काठमाडौं,१ कात्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेस र मधेसवादी दललाई उस्तै-उस्तै दल भएको संज्ञा दिनुभएको छ ।
नेता नेपालको गृह जिल्ला रौतहटको कटहरियामा दशै, दीपावली तथा छठको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ नेता नेपालले कांग्रेस, संघीय समाजवादी फोरम नेपाल, र राष्ट्रिय जनता पार्टी नेपालले विरोध गर्नु बाहेक अरु केही गर्न नजानेको दावी गर्नुभयो ।
उँहाले ती दलहरु विकास विरोधी रहेको समेत आरोप लगाउनुभयो । वरिष्ठ नेता नेपालले कांग्रेसले देशमा विकासका लागि नयाँ केही नगरेको र गर्न पनि नचाहेको बताउँदै कांग्रेस असफल भइसकेको जिकिर गर्नुभयो ।
केही नेताहरूले नेकपाका नेताहरुबीच असमझदारी रहेको बताएर जनतामा भ्रम छर्न खोजेको भन्दै वरिष्ठ नेता नेपालले देश विकासका लागि आफूहरू तीनैजना चिन्तित रहेको बताउनुभयो ।
उँहाले वर्तमान सरकार पाँच वर्षसम्मको लागि स्थिर रहेको दावी गर्दै केही कर्मचारीले विकास रकमको बिल मात्र बनाएर हजम बनाउने काम गरेको भन्दै आपत्ति जनाउनुभयो । उहा“ले धुर्मुस सुन्तलीले थोरै रकमले धेरै र राम्रो काम गर्न सक्ने तर कर्मचारीले भने गर्न नसक्ने अवस्था देखिएकाले कर्मचारीहरू खल्ती भर्न उद्यत रहेको आरोप लगाउनुभयो ।
देशमा दुई तिहाई बहुमतको कम्युनिष्ट पार्टीको सरकार रहेको बताउँदै नेता नेपालले अब देश अगाडि बढ्ने बाटोमा हिंडिसकेकाले नेकपा नै देश र जनताको समस्या समाधान गर्ने पार्टीको रुपमा रहेको दावी गर्नुभयो ।
स्थानीय सरकारमा पनि भ्रष्टाचार बढेको गुनासो सुन्न थालेको सन्दर्भमा नेता नेपालले स्थानीय सरकारसित विकास निर्माणको सबै खर्च पारदर्शी बनाउदै सीप विकास, साक्षरता, उद्यमशीलता तथा ठोस भौतिक पूर्वाधारमा लगानी गर्न विशेष जोड दिनुभयो
प्रतिक्रिया दिनुहोस्