काठमाडौं,१९ असोज । सवारी चालक अनुमति पत्र सरकारले नदिएपछि बहिरा नागरिकहरु समेत सडक आन्दोलनमा उत्री्न बाध्य भएका छन ।
संवैधानिक व्यवस्था अनुसार आफूहरुलाई तत्काल सवारी चालक अनुमति पत्रको व्यवस्था गर्न माग गर्दै बहिरा नागरिकहरुले शुक्रबार बिहान काठमाडौंको माईतीघर मण्डलामा धर्ना दिएका हुन ।
२०६१ सालदेखि सवारी चालक अनुमति पत्र दिन सरकारको विभिन्न निकायमा गरिएको आग्रह सुनुवाई नभएपछि आफूहरु सडक आन्दोलनमा गर्न बाध्य हुनु परेको राष्ट्रिय बहिरा महासंघ नेपालका अध्यक्ष केपी अधिकारीले जानकारी दिनु भयो ।
महासंघले सवारी चालक अनुमति पत्र पाउनुपर्ने आफूहरुको माग तत्काल सम्बोधन नभए सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएको छ ।
महासंघले २०६१ साल पुस ९ गतेदेखि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागसँग पटक–पटक सवारी चालक अनुमति पत्र दिन माग गर्दै आएपनि त्यसलाई सरकारले बेवास्ता गरेपछि सडक आन्दोलन सूरु गरेको हो ।
‘म बहिरा, सवारी साधन चलाउन नपाउने ?’ लेखिएको प्लेकार्डसहित शान्तिपूर्ण प्रर्दशनमा उत्रिएका उनीहरुले चालक अनुमति पत्र अव पनि नदिए सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन ।
उनीहरुले ५ सय भन्दाबढि बहिरा नागरिकहरु सवारी चलाउन सक्ने भएपनि सरकारले चालक अनुमति पत्र नदिएर अप्ठयारोमा पारेको गुनासो पनि गरेका छन । अध्यक्ष अधिकारीले सवारी चालक अनुमति पत्र तत्काल उपलब्ध गराउन र त्यसका लागि आवश्यक परे छलफलका लागि बोलाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।
प्रतिक्रिया दिनुहोस्