काठमाडौं,२१ भाद्र । त्रिभुवन विमानस्थलमा अवैधानिक रुपमा वर्षौंदेखि हरियो नम्बर प्लेटमा सञ्चालन हुँदै आएका ८ वटा ट्याक्सीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
विमानस्थल हवाइ यात्रु संस्थाले अनुमति विनै ५ वर्षदेखि यस्ता ट्याक्सी राजनीतिक मिलेमतोका आडमा सञ्चालन गर्दै आएको थियो।
कम्पनीका प्रबन्ध निर्देशक पुरुषोत्तम सिंखडा, सञ्चालकहरु विजयबहादुर स्वाँर र झलकबहादुर कार्कीको मिलेमतोमा अनुमति नै नपाएका ८ ट्याक्सी मिलेमतोमा सञ्चालन गर्दै आएका थिए। ५ वर्षमा कम्पनीको नाममा उठाएको ४८ लाख ४८ हजार रकम आफैंले चलाएका थिए।
कम्पनीको लागि भन्दै अवैध रुपमा सञ्चालित यस्ता ट्याक्सीबाट उठेको रकम पनि कम्पनीका तीन नेताहरुले अपारदर्शी रुपमा लिने गरेका खुलासापछि गृह मन्त्रालयले पर्यटन मन्त्रालय र ट्राफिक महाशाखालाई पत्र लेखेको थियो।
समाचारपछि अवैध रहेका ट्याक्सीहरुलाई हरियो नम्बर प्लेटमा चल्न नदिने गरी आज नियन्त्रणमा लिइएको ट्राफिक महाशाखाका प्रमुख बसन्त वन्तले जानकारी दिए।
नियन्त्रणमा लिइएका ट्याक्सीलाई विमानस्थलमा नियन्त्रणमा राखिएको छ।
प्रतिक्रिया दिनुहोस्