काठमाडौं,२१ भाद्र । प्रधानन्यायाधीशमा सिफारिस ओमप्रकाश मिश्रविरूद्ध संसदीय सुनुवाइ समितिमा चार उजुरी परेको छ ।
सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको, एनसेलको मुद्दामा अन्तरिम आदेशमार्फत् कर छलीमा सहयोग गरेकोजस्ता उजुरी मिश्रविरूद्ध परेको हो ।
सुनुवाइ समितिको बैठक शुक्रबारका लागि डाकिएको छ। समितिले उजुरी अध्ययन, उजुरीकर्तासँग छलफलपछि प्रस्तावित प्रधानन्यायाधीशलाई सुनुवाइका लागि बोलाउने बताइएको छ ।
मिश्रविरूद्ध बुधबार प्रदर्शनसमेत गरेका छन्। मिश्रको प्रमाणपत्र भारतीय भएकाले उजुरीकर्ताले उनको माइग्रेसनमा प्रश्न उठाएका छन्। उनले पढाइको समकक्षतासमेत प्रमाणित नगरेको उजुरी छ।
‘यस्ता भ्रष्ट व्यक्तिलाई प्रधान न्यायाधीश बनाउँदा न्याय नै समाप्त हुने भएकाले निजलाई प्रधानन्यायाधीश बन्नबाट रोकिपाउँ,’ उजुरीकर्ताले लेखेका छन्।
एनसेलको मुद्दामा करोडौँ घुस खाएर राजश्व छलीमा सहयोग पुर्याएको, सूर्य नेपालको कर छलीमा समेत सहयोग पुर्याएको आरोप उजुरीकर्ताले लगाएका छन्। मिश्रको नियुक्तिले भ्रष्टको राज हुने उजुरीकर्ताले उल्लेख गरेका छन् ।
यसअघि प्रधानन्यायाधीश सिफारिस भएका दीपकराज जोशी संसदीय सुनुवाइबाट अस्वीकृत भएपछि परिषदले मिश्रलाई सिफारिस गरेको हो।
प्रतिक्रिया दिनुहोस्