काठमाडौं,१० भाद्र । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको चर्को आलोचना गर्नु भएको छ ।
प्रतिनिधिसभाको आईतबारको बैठकमा विशेष समय लिएर बोल्दै सभापति देउवाले महिला र बालबालिकामाथि हत्या, हिंसा, बलात्कारलगायतका घटना बढिरहँदा पनि राज्य निरिह देखिएकोमा आपत्ति जनाउँदै सरकारको चर्को आलोचना गर्नु भएको हो ।
प्रमुख प्रतिपक्ष दलका नेता समेत रहनु भएका उहाँले बलात्कारसहितका जघन्य अपराधबाट मुक्तिका लागि न्याय माग्न जाँदा राज्यले उल्टै गोली हानेर मार्ने काम गरेको भन्दै सरकारको सो कार्यको कडा शब्दमा निन्दा र भत्सर्ना पनि गर्नु भयो ।
कञ्चनपुरमा किशोरी निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कार्वाही गर्न माग गर्दै भएको हिंसात्मक घटनामा प्रहरीले गोली चलाउँदा एक जना बालकको ज्यान गएको थियो । राज्य पक्षबाटै बालकको ज्यान लिने काम भएकोमा सभापति देउवाको रोष छ ।
सभापति देउवाले न्यायको खोजीमा गएका पीडितलाई नै ज्यान लिने यो कस्तो कानुनी राज्य हो भनि प्रश्न पनि गर्नु भयो ।
न्यायपालिकालाई कार्यपालिकाको लाचार छायाँ बनाउन खोजेको पनि सरकारमाथि सभापति देउवाको आरोप छ । उहाँले न्यायपालिकाको भूमिका खुम्च्याउने कोसिस नगर्न पनि सरकारलाई चेतावनी दिनु भयो ।
प्रतिक्रिया दिनुहोस्