
काठमाडौं ७ भाद्र । प्रतिनिधिसभा कानुन, न्याय तथा मानव अधिकार समितिले कार्यविधिको मस्यौदा तयार पार्न उपसमिति गठन गरेको छ ।
समितिको बिहिबार सिंहदरबारमा बसेको बैठकले समितिको आफ्नै कार्यविधिको मस्यौदा तयार पार्न कृष्णभक्त पोखरेल, पदमनारायण चौंधरी र शशी श्रेष्ठ रहनु भएको ३ सदस्यीय उपसमिति गठन गरेको हो ।
समितिको कार्यविधिको मस्यौदा तयार पार्न ३ सदस्यीय उपसमिति गठन गरिएको समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिनु भयो । उपसमितिलाई ५ दिन भित्र कार्यविधिको मस्यौदा तयार पारी समितिमा पेश गर्ने कार्यादेश दिइएको छ ।
बैठकमा समितिका सदस्यहरुले कार्यविधि बनाउन ढिलाई गर्न नहुनेमा जोड दिएका थिए । समितिका सदस्य एवम् पूर्व सभामुख सुवाष नेम्वाङले कानुन निर्माणको कामलाई तीव्रता दिनुपर्ने भएकाले समितिले कार्यविधि बनाउन ढिलाई गर्न नहुनेमा जोड दिनु भयो ।
उहाँले विगतका अभ्यास र अन्य समितिको कार्यविधिलाई समेत ध्यानमा राखेर समितिको कार्यविधि बनाउनुपर्ने पनि बताउनु भयो ।
समितिका अर्का सदस्य देवप्रसाद गुरुङले राष्ट्रिय मानव अधिकार आयोग र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग परामर्श गरेर समितिको कार्यविधि बनाउन उपयुक्त हुने सुझाव दिनु भयो ।
समितिका सदस्य गुरुङले समितिको कार्यविधि तय गर्दा अदालत र समितिको क्षेत्राधिकारमाथि विवाद आउन दिन नहुनेतर्फ पनि सचेत गराउनु भयो ।



















प्रतिक्रिया दिनुहोस्