
रामेछाप, ७ भाद्र । जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत नारायणप्रसाद सुवेदीलाई अज्ञात समुहले छुरा प्रहार गरेका छन् ।
गएराति ९ बजेको समयमा मन्थली नगरपालिका वडा न–१, मच्छेडाँडीमा रहेको आफ्नै घरमा एक नचिनेको मान्छे कोठाभित्र पसेर अधिकृत सुवेदीको पेटमा छुरा प्रहार गरी भागेको प्रहरीले जनाएको छ ।
कोठामा एक्लै बसिरहेको अवस्थामा छुरा प्रहारपछि सुवेदी चिच्चाएको र घरको अर्कोकोठामा टिभी हेर्दै गरेकी उहाँकी श्रीमतीले थाहा पाउनुभएको थियो ।
घटनापछि स्थानीयहरुले प्रहरीमा खबर गरेका थिए । उहाँलाई गएराति नै मन्थलीस्थित तामाकोशी सहकारी अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाडौं पठाइएको छ । उहाँको अवस्था गम्भीर रहेको उपचारमा संलग्न डाक्टरले जनाएका छन् ।
घटनापछि रातिदेखि नै घटनास्थल वरपर ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ । घटनामा संलग्नलाई चाँडै पक्राउ गर्ने जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।



















प्रतिक्रिया दिनुहोस्