काठमाडौं ४ भाद्र । प्रहरीले पूर्वराजदूत केशव झाको मृत्यु शंकास्पद रहेको भन्दै अनुसन्धान शुरु गरेको जनाएको छ ।
सोमबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त लामाले प्रारम्भिक अनुसन्धानबाट छुरा प्रहार गरी हत्या भएको अनुमान गरिएको बताउनुभयो ।
सोमबार बिहान काठमाडौको बबरमहलस्थित आफ्नै निवासमा झा मृत अवस्थामा फेला पर्नुभएको थियो । घटनाबारे विस्तृत अनुसन्धान शुरु भइसकेको र प्रहरी चाँडै निष्कर्षमा पुग्ने उहाले बताउनुभयो । उहाले घटनाको प्रकृति हेर्दा लुटेको योजना पनि नदेखिएको जानकारी दिनुभयो ।
गत शनिबारबाट महानगरीय प्रहरी परिसर काठमाडौंको कमाण्ड सम्हालेका एसएसपी लामाले कानुनको परिधी र संगठनको सिद्धान्तभित्र रहेर काम गर्ने समेत बताउनुभयो । उपत्यकामा लुकेर रहेको गुण्डागर्दी, विभिन्न प्रकारका तस्करी, संगठित अपराध, लागु औषधको कारोबारीमाथि विशेष निगरानी बढाइने उहाले बताउनुभयो ।
नागरिक र प्रहरीबीच सहकार्य गरेर अगाडि बढ्ने बताउँदै उहाले आफू आर्थिक रुपमा पारदर्शी बन्ने र संगठनमा राम्रो गर्नेलाई पुरस्कृत र गलत गर्नेलाई कारबाहीको दायरामा ल्याउने दाबी गर्नुभयो । विगतको प्रहरी कार्यशैलीमा नयाँपन आइसकेको बताउँदै एसएसपी लामाले गलत काममा सोर्सफोर्स नचल्ने र अपराधीसँग सम्झौता नगर्ने जिकिर गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्