काठमाडौं ३ भाद्र । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ का सम्बन्धमा प्राध्यापक डाक्टर गोविन्द केसीसँग छलफल गर्ने निर्णय गरेकोे छ ।
सिंहदरबारमा आईतबार बसेको समिति बैठकले चिकित्सा शिक्षा विधेयकका बारेमा आगामी बैठकमा माथेमा आयोगका पदाधिकारी, डाक्टर केसी, नेपाल चिकित्सक परिषद्का पदाधिकारीलगायत सरोकारवालासँग छलफल गर्ने निर्णय गरेकोे हो ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षामा विपन्न तथा गरीबका लागि विशेष व्यवस्था गरेर पहुँचको सुनिश्चित गरिने प्रतिबद्धता जनाउनुभयो ।
सामाजिकरुपमा पछि परेकालाई न्याय दिने विषयलाई स्थापित गरिने र समाजवादउन्मुख र समावेशीका विषयमा सरकार पछि नहट्ने उहाले बताउनुभयो । उहाले सेवा क्षेत्रको रूपमा रहेको शिक्षा र स्वास्थ्यका विषयमा हामीबीच साझा सहमति हुन आवश्यक रहेको तर्क गर्नुभयो ।
मन्त्री पोखरेलले मौलिक अधिकारका रूपमा रहेको शिक्षा र स्वास्थ्यको विषयलाई अरू उद्योग र कारखानाको रुपमा हेरिन नहुने तर्क समेत गर्नुभयो ।
उक्त विधेयकमाथिको सांसदहरुले राज्य सङ्घीयताको मर्मअनुसार अघि बढ्ने हो भने सातै प्रदेशमा मेडिकल कलेज र ठूला अस्पताल खोल्नेतर्फ सरकारको ध्यान जान आवश्यक रहेको धारणा राखेका थिए ।
सांसद सोमप्रसाद पाण्डेले चिकित्सा क्षेत्रको पढाइमा विदेशी विद्यार्थीलाई आकर्षण गरेर मुलुकको स्थायीरूपमा आयआर्जन वृद्धि गर्न मेडिकल कलेजको संख्या बढाउन आवश्यक रहेको धारणा राख्नुभयो ।
सांसद खगराज अधिकारीले स्वास्थ्य र शिक्षा क्षेत्रलाई निःशुल्क बनाउने सन्दर्भमा भावनामा बग्ने होइन, व्यवहारिक भएर सुझबुझका साथ निर्णयमा पुग्नु बुद्धिमानी हुने तर्क गर्नुभयो । समितिमा केहि दिन यता लगातार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ माथि छलफल भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्