काठमाडौं,३१ साउन ।प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र्र पौडेलले सरकार पूर्णतः असफल भएको दाबी गर्नु भएको छ ।
वरिष्ठ नेता पौडेलले ६ महिना नपुग्दै सरकार असफलसिद्ध भईसकेको दावी गर्नु भयो । उहाँले सरकारले एउटा पनि उल्लेख्य काम नगरेको पनि बताउनु भयो । वरिष्ठ नेता पौडेलले सरकारले न्यायपालिकामा समेत हस्तक्षेप गरेको भन्दै आपत्ति जनाउनु भयो ।
शिक्षा, स्वास्थ्य, विद्युत, रोजगारीजस्ता जनताको आधारभूत विषयमा पनि सरकार गम्भिर नभएको उहाँको आरोप छ । बिहिबार पार्टीको केन्द्रिय नीति तथा प्रशिक्षण प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले सरकारले सरुवा, बढुवामा समेत एकलौटी निर्णय लिएर सर्वसत्तावादी सोच देखाएको तर्क पनि गर्नु भयो ।
उहाँले महंगी बढाउने, कर बढाउनेलगायतका जनताविरोधी कामबाहेक सरकारले अरु केही गर्न नसकेको पनि बताउनु भयो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले प्रधानन्यायाधिशमा प्रस्तावित दिपकराज जोशीलाई अस्विकृत गरेर स्वतन्त्र न्यायपालिकामाथि गम्भिर प्रहार गरेको आरोप लगाउनु भयो । उहाँले सरकार संवैधानिक तवरबाटै सत्ता कब्जाको बाटोमा अघि बढिरहेको दावी पनि गर्नु भयो ।
प्रमुख सचेतक खाँडले सरकार जनहित विरोधि काममा लागेकाले त्यसको विरुद्धमा सशक्त ढंगले अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई एकतावद्ध हुन आह्वान गर्नु भयो ।
प्रतिक्रिया दिनुहोस्