चितवन , २८ साउन । चितवनको रत्ननगर नगरपालिकाले गरेको कर बृद्धिको विरोधमा विभिन्न सात दलहरुले सुरु गरेको रिले अनसन आज पनि जारी रहेको छ । नेपाली काँग्रेंस लगायत रत्ननगर नगरपालिकामा क्रियाशिल विभिन्न आठ राजनितिक दलले संयुक्त रुपमा कर बृद्धि लगायताको ११ वटा मुद्धा उठाएर विरोध स्वरुप रिले अनसन बसेका हुन् ।
चरणबद्ध आन्दोलनको अन्य विभिन्न कार्यक्रम गर्दा समेत नगरपालिका नेतृत्वले आफुहरुको माग सुनुवाई नगरेको भन्दै रिले अनसनमा बस्नु परेको नेपाली कांग्रेस रत्ननगर नगर समितीका सभापति रुपनराज घिमिरेले बताए ।
रत्ननगर नगरपलिकाले १ हजार प्रतिशतसम्म कर बृद्धि गरेको भन्दै विभिन्न राजनितिक दलले विरोध गर्दै आएका छन् । उनीहरुले अनसनसँगै राजश्व शाखा समेत बन्द गराएका छन् ।
अघिल्लो बर्ष ३ सय १५ रुपैयाँ कर तिरेको तर यसबर्ष कर बृद्धि भएर ६ हजार २ सय ४० रुपैयाँँ तिरेको रत्ननगर नगरपालिका वडा नम्बर ९ का स्थानिय गोपाल शर्माले बताए । अत्याधिक रुपमा बढाइएको करले जनता मर्कामा परेको उनले गुनासो गरे ।
कर वृद्धि विरुद्धको आन्दोलनमा क्षेत्रीय होटल व्यवसायी संघ नेपाल चितवनले समेत एक्यवद्धता जनाएको छ ।
रत्ननगर नगरपालिकाले भने करको दरमा वृद्धि नभएको तर जग्गाको मुल्याकंन बढेकोले करको रकम बढेको बताउदै आएको छ । अघिल्लो बर्ष १५ लाख ६१ हजार रुपैयाँ मुल्याकंन भएको जग्गाको अहिले मुल्याकंन बढेर ८६ लाख ९७ हजार पुगेकोले करको रकम बढेको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले बताए ।
नगरपालिकाले आन्दोलनरत पक्षहरुसँग वार्ता र सम्वाद गरेको समस्या समाधान गर्न तयार रहेको जनाएको छ । उनीहरुलाई वार्ताको लागि आवहन समेत गरेको छ । नगरपालिकाले मालपोत कार्यालयको मुल्याकंन अनुसार जग्गाको मुल्याकंन गरेकोे जनाएको छ ।
स्थानियले भने जग्गा बिक्रीवितरण गर्दा एक पटक तिर्ने करको मुल्याकंन र प्रत्येक बर्ष तिर्ने करको लागि मुल्याकंन एकै बनाउनु व्यवहारिक नहुने बताएका छन् । आन्दोलमा उत्रिएका दलहरुले वृद्धि भएको कर तत्काल फिर्ता हुनुपर्ने माग राखेका छन् ।
विकासको लागि समयसापेक्ष र वैज्ञानिक रुपमा कर बृद्धि गर्नु जायज नै होला तर एक्कासी अत्याधिक रुपमा गरिने कर वृद्धि गरेर जनताको ढाड सेक्ने काम भने नहोस् ।
प्रतिक्रिया दिनुहोस्