बुटवल,२५ साउन । प्रदेश नम्बर ५ का सभामुख पूर्णबहादुर घर्तीले केन्द्र सरकारको एकात्मक राज्य ब्यबस्था चलाएको ह्यांग अझै नहटेको दाबी गर्नुभएको छ । संघीय प्रणाली ३ पांग्रे नीति अनुसार चलेको भन्दै उहाले टेम्पोको उदाहरण समेत दिनुभयो ।
एउटा पांग्रा बिना टेम्पु चल्न सक्दैन,त्यस्तैगरी स्थानीय,प्रदेश र संघगरि ३ वटा सरकारको एक अर्कासंग समन्वय नभए संघीयता कमजोर हुन्छ ।’ उहाले भन्नुभयो । प्रदेश र केन्द्रबिच अधिकारका बिषयमा पनि केहि जटिलताहरु देखिएका छन् यस्लाई छलफलका माध्यमबाट हल गर्नुपर्ने उहाको तर्क छ ।
बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै सभामुख घर्तीले बांझो बारीको डल्लो फुटाउने कोशीशमा रहेको प्रष्ट पार्नुभयो ।
हामी संघीयता कार्यान्वयन शुन्यबाट शुरु गरेका हौं, यो बांझो बारीको डल्लो फुटाउने काम जस्तै जटिल हो, संघीय ब्यवस्थालाइ ब्यबस्थित र कार्यान्वयन गर्ने कोशीश गरेका छौं ’ उहाले भन्नुभयो ।
प्रदेश राजधानी र नामको अन्तिम टुंगो संसदले नै लगाउने भन्दै सभामुख घर्तीले १५ सदस्यिय समितिले प्रतिबेदन तयार गर्ने बताउनुभयो । प्रदेशको राजधानी वा नामाकरणको बेला संघीयताको मर्ममा केन्द्रित रहेर हुनुपर्छ अमुख दल अमुख क्षेत्रको पक्षमा होइन,हुदैन । अब यो गुनासो र संघर्षको बिषय बन्दैन ।’ सभामुख घर्तीले भन्नुभयो ।
सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संविधानमा ब्याख्या भएपनि अहिले सर्बोच्चमा बिचाराधीन अबस्थामा मुद्धा रहेकाले केहि बोल्न नमिल्ने बताउनुभयो ।
यो बिषय एमाले र माओबादी एकतापछि मात्रै उब्जिएको समस्या भएको भन्दै उहाले न्यायालयले नै निर्णय गर्ने बताउनुभयो ।
प्रदेशसभाले पहिलो र दोश्रो अधिबेशनबाट १५ वटा बिधेयक पास गरेको र प्रदेश लोकसेवा आयोगको बिधेयक समितिमा अड्किएको जानकारी समेत दिनुभयो । प्रदेश ५ मा ५५ पुरुष र ३२ महिला गरि ८७ जना प्रदेश सांसद रहेका छन् । माघ २१, २०७४ बाट शुरु भएको पहिलो अधिबेशन २०७५ बैसाख ३१ सम्म र दोश्रो अधिबेशन साउन २४ गते अन्त्य भएको थियो ।
प्रतिक्रिया दिनुहोस्