ललितपुर, २१ साउन । काठमाडौं उपत्यकाकै ललितपुरको हात्तीवन ऐरावत टोल वर्षाका समयमा वर्षौदेखि डुबान समस्या भोगिरहेको छ ।
ललितपुर महानगरपालिका वडा नं. २३ हात्तीवनको ऐरावत टोलको गैरी भाग हरेक वर्षाको समयमा डुबानमा पर्दै आएको छ । यो सालको वर्षामा पनि सो टोल डुबानमै छ । तर, न त स्थानीय सरकारको ध्यान जान सकेको छ, न त संघीय सरकारकै ध्यान ।

आइतबारदेखि बढी पानी परेपछि सोमबार पनि सो क्षेत्र डुबानमै छ । हात्तीवनदेखि खुमलटारको धानबाली क्षेत्रका अधिकांश मानिस डुवानमा परेको छ ।
खुमलटारमा रहेको धानबाली अनुसन्धानको धानखेतबाट आएको पानीको उचित निकास हुन नसक्दा समस्या सिर्जना भएको छ । त्यस्तै, हात्तीवनमा रहेको सिटी स्केप अपार्टमेन्टले प्रचलनमा रहेको राजकुलो आफ्नो क्षेत्रभित्र घेराबेरामा राखेर पानी सहज रुपमा बग्न नदिँदा पनि गैरीगाउँ क्षेत्र डुबानमा पर्ने गरेको स्थानीय बासिन्दाहरु बताउँछन् ।

ललितपुर महानगरपालिका २३ का वडा सदस्य राधेश्याम सिंह कठायत खुमलटार धानबालीबाट बगेर आउने पानीको उचित निकास नहुँदासम्म यो समस्या समाधान नहुने बताउनुहुन्छ । धानखेतबाट बगेर आएको पानी बस्तीमा पस्दा बर्षेनी डुबान परेको उहाँको भनाइ छ । यो समस्या समाधानका लागि बारम्बार अनुरोध गर्दा समेत खुमलटारको कृषि कार्यालयहरुले अटेर गर्ने गरेको गुनासो उहाँको छ ।
डुबान क्षेत्रका स्थानीय बासिन्दा भने महानगरपालिका र सरकारसँग आक्रोस पोखिरहेका छन् । बर्षेनी डुबानको समस्या भोगेको र महानगरपालिका र विभिन्न सरकारी निकायमा ध्यानाकर्षण गराउँदा समेत बेवास्ता भएको गुनासो स्थानीय दिनु गुरुङको छ ।

ललितपुर महानगरपालिका २३ नम्बर वडाले भने ढलको लागि महानगरपालिकासित माग गरेको जनाएको छ । महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सबैप्रति समान व्यवहार नदेखाएकाले डुबानको समस्या ज्यूँकात्यूँ रहेकोमा स्थानीय बासिन्दाको आक्रोस छ ।
बस्ती डुबानमा पर्दा सामान्य रुपमा हिँडडुल गर्न समेत कठिनाइ भएको छ । त्यस्तै बालबालिकाहरु विद्यालय आवत जावत गर्न झनै कष्टकर बनेको स्थानीय बासिन्दाहरु बताउँछन् ।




















प्रतिक्रिया दिनुहोस्