
काठमाडौं, २० साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षण र अभिमुखीकरण तालिम गराउँदै आएका संस्थाको धरौटी ३ लाख रुपैयाँबाट बढाएर ३० लाख पुर्याउने गृहकार्य सुरु गरेको छ।
सरकारले मेनपावर कम्पनीको धरौटी पनि ५ करोड रुपैयाँ पुर्याउने प्रस्तावसहित छलफलका लागि कानुन मन्त्रालयमा पठाएको छ । श्रम मन्त्रालयले मेनपावरसँगै स्वास्थ्य संस्था र अभिमुखीकरण संस्थाको पनि धरौटी बढाउने विषयमा कानुनी परामर्शका लागि कानुन मन्त्रालय पठाएको हो।
मन्त्रालयले वैदेशिक रोजगार ऐन, २०६४ संशोधन गरी यी दुई संस्थाको धरौटी ३० लाख पुर्याउने व्यवस्था गर्न लागेको हो ।
श्रम मन्त्रालयको जिम्मेवारी सम्हालेपछि मन्त्री गोर्कण विष्टले वैदेशिक रोजगार क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेका थिए। उक्त कार्यदलले वैदेशिक रोजगारी क्षेत्रमा सुधार गर्नुपर्ने आवश्यक सुझावसहितको प्रतिवेदन मन्त्री विष्टलाई बुझाउँदैछन्।
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अध्यक्ष समेत रहेका श्रममन्त्री विष्टलाई सुझाव कार्यदलले स्वास्थ्य परीक्षण र अभिमुखीकरण तालिम सञ्चालन गर्ने संस्थाको धरौटी ३० लाख पु¥याउन सुझाव दिएको कार्यदलका एक सदस्यले जनाए।
स्वास्थ्य संस्था र तालिम अभिमुखीकरण संस्थाहरुलाई पनि गुणस्तरीय, विश्वसनीय र जिम्मेवारी बनाउन धरौटी रकम हेरफेर गरी वृद्धि गर्न लागिएको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए।
फ्रि भिसा र फ्रि टिकट लागू भएयता स्वास्थ्य संस्थाबाट परीक्षण गराई वैदेशिक रोजगारीमा गएका कामदारले विदेशमा स्वास्थ्य परीक्षणमा असफल भएर स्वेदश फर्किएमा १० हजार रुपैयाँ मात्र क्षतिपूर्ति पाउने गरेका छन्।
उनका अनुसार स्वास्थ्य संस्थाले विगत १० वर्षदेखि एउटै उपकारणको प्रयोग गरेर स्वास्थ्य परीक्षण गराउँदै आएका छन् । पुराना उपकरण प्रयोग गरेर स्वास्थ्य परीक्षण गराउँदा रोजगारीमा गएका कतिपय कामदार स्वास्थ्य परीक्षणमा असफल भएर फर्किनुपर्ने अवस्था आएको उनको भनाइ छ।
वैदेशिक रोजगारीमा गएका कामदार रोजगार गन्तव्य मुलुकबाट ९० दिनभित्र स्वास्थ्य परीक्षणमा असफल भएर फर्किए उनीहरुको आवतजावत खर्च स्वास्थ्य संस्थाले ब्यहोर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।
तर, विदेशमा स्वास्थ्य परीक्षणमा असफल भएर फर्किएका कामदारलाई स्वास्थ्य संस्थाहरुले १० हजार रुपैयाँ मात्र दिएर पन्छाउने गरेका छन्।
तय गर्न लागेको स्वास्थ्य संस्थाको मापदण्ड अनुसार अब स्वास्थ्य व्यवसायीहरुले आधुनिक उपकारणको प्रयोग गरेर रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गराउनुपर्ने हुन्छ।
हाल वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गराउन ४ सयभन्दा धेरै संस्था रहेको वैदेशिक रोजगार विभागले जनाएको छ।
छ।



















प्रतिक्रिया दिनुहोस्