काठमाडौं,१६ साउन । मंगलबार साँझ दूध किन्न निस्किएका बेला सत्तारुढ दल नेकपाकी सांसद निरु पाललाई सडकमा अज्ञात व्यक्तिले कञ्चटमा पेस्तोल राखेर धम्की दिएको बताएकी छिन ।
‘प्रधानन्यायाधीशमा अन्यथा गरे तेरो बाउ खड्गेले पनि बचाउन सक्दैन’ भन्दै अज्ञात धम्की दिएको र आफ्नो मोबाइलसमेत खोसेर लगेको सांसद पालले बताएकी छन् ।
लगत्तै प्रहरी प्रधान कार्यालयले सांसद पालको सुरक्षाका लागि पीएसओ खटाएको र उनीसहित सुनुवाइ समितिका ७ जनालाई सुरक्षा दिने निर्णय भएको केन्द्रीय प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) शैलेश थापा क्षेत्रीले जानकारी दिएका छन ।
बाँकी सदस्यहरु मध्ये कतिपयले पहिल्यैदेखि पीएसओको सुरक्षा लिँदै आएका थिए । ‘जेष्ठ सदस्य लक्ष्मणलाल कर्ण, नेकपाका सांसद सुरेन्द्र पाण्डे लगायतसँग पहिल्यैदेखि पीएसओ थिए । प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो ।
यसैबीच मंगलबार संसदीय सुनुवाई समितिका अन्य सदस्यलाई टेलिफोनमार्फत ज्यान मार्ने धम्की आएको भन्दै सांसदहरुको एक समूहले सभामुखलाई भेटेर सुरक्षाको प्रत्याभूति गराउन माग गरेका छन् ।
सरकारले शान्ति सुरक्षाको अवस्था राम्रो रहेको बताइरहेका बेला राजधानीको बानेश्वरमै सांसदको कञ्चटमा पेस्तोल ताकिनु र मोबाइल लुटिनुले गम्भीर स्थितिको संकेत गरेको छ ।
सांसद पालले मोबाइल लुटिएको सूचना दिनासाथ सरकारले पीएसओको व्यवस्था त गरेको छ, तर उनको कञ्चटमा कसले पेस्तोल तेस्र्यायो भन्ने चाहिँ अझैसम्म पत्ता लाग्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्