वासिङ्टन डीसी – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयास गरेको अभियोगमा क्यालिफोर्नियाका ३१ वर्षीय कोल टोमस एलेनमाथि मुद्दा दायर भएको छ । वासिङ्टनमा आयोजित ‘ह्वाइट हाउस करस्पोन्डेन्ट्स एसोसिएसन’ को रात्रिभोजका क्रममा ट्रम्पलाई लक्षित गरी आक्रमण गर्न खोजेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
सोमबार वासिङ्टन डीसीस्थित अदालतमा उपस्थित गराइएका एलेनमाथि राष्ट्रपति हत्याको प्रयाससहित हतियार सम्बन्धी दुईवटा गम्भीर मुद्दा लगाइएको छ । अभियोजनकर्ताका अनुसार शनिबार राति होटलको सुरक्षा घेरा तोडेर भित्र पस्ने क्रममा एलेनसँग एउटा सेमी-अटोमेटिक पेस्तोल, एउटा पम्प-एक्सन सटगन र तीनवटा चक्कु बरामद गरिएको थियो ।
घटनाका क्रममा सुरक्षामा खटिएका ‘सेक्रेट सर्भिस’ का एक एजेन्टलाई गोली लागेको छ । बुलेटप्रुफ ज्याकेटका कारण ती एजेन्टको ज्यान जोगिएको र हाल उनी उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेको अधिकारीले जनाएका छन् । कार्यवाहक महान्यायाधिवक्ता टोड ब्लान्चका अनुसार ती एजेन्टले एलेनलाई रोक्न पाँच राउण्ड गोली चलाएका थिए, जसमा एलेनलाई गोली नलागे पनि उनी भुइँमा लडेपछि तत्काल नियन्त्रणमा लिइएको थियो ।

अदालतमा नीलो रङको जम्पसुटमा उपस्थित भएका अभियुक्त एलेन निकै शान्त देखिएका थिए । स्नातकोत्तर तहसम्मको अध्ययन गरेका उनले न्यायाधीशका प्रश्नहरूको “हो, श्रीमान्” वा “होइन, श्रीमान्” भन्दै संक्षिप्त जवाफ दिएका थिए ।
अनुसन्धानका क्रममा एलेन ट्रम्पको हत्या गर्ने योजनासहित लामो यात्रा तय गरेर वासिङ्टन आइपुगेको खुलेको छ । उनी अप्रिल २१ मा लस एन्जलसबाट रेल चढेर सिकागो पुगेका थिए र त्यहाँबाट अप्रिल २४ मा वासिङ्टन आएर सोही होटलमा बसेका थिए जहाँ रात्रिभोज आयोजना गरिएको थियो ।
घटनाका बेला होटलको हलमा ट्रम्प, उपराष्ट्रपति जेडी भान्स र अन्य उच्च पदस्थ सरकारी अधिकारी उपस्थित थिए । गोली चलेलगत्तै सुरक्षाकर्मीले उनीहरूलाई सुरक्षित स्थानतर्फ लगेका थिए । यदि हत्या प्रयासको अभियोग प्रमाणित भएमा एलेनलाई जन्मकैदसम्मको सजाय हुन सक्छ । उनलाई बिहीबार पुनः अदालतमा उपस्थित गराइनेछ । यस घटनापछि ह्वाइट हाउसको सुरक्षा व्यवस्थाबारे पुनरावलोकन सुरु गरिएको छ । बिबिसीबाट








प्रतिक्रिया दिनुहोस्