
काठमाडौं,१४ साउन । संसदीय सुनुवाइ समितिको बैठक फेरि पनि सरेको छ। आजको बैठकले प्रधानन्यायाधीशमा सिफारिश भएका दीपकराज जोशीलाई अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्ने अनुमान गरिएको थियो ।
बैठकपछि समिति सदस्य लक्ष्मणलाल कर्णले भने, हामी निचोडमा नपुगेको हुनाले अर्को बैठक बोलाइएको हो।
जोशीको गत बिहीबार सुनुवाइ भएको थियो । सामान्यतया सुनुवाइ समितिले सुनुवाइ समाप्त भएकै दिन त्यसबारे निर्णय गर्ने गरे पनि जोशीको हकमा बैठक पटकपटक सर्दै आएको छ।
शुक्रबार बैठक बसेर निर्णय गर्ने भनिए पनि बैठक आइतबारका लागि सरेको थियो। फेरि, सोमबारका लागि बैठक तोकिएको थियो।
सुनुवाइको क्रममा जोशीको शैक्षिक प्रमाणपत्र, फैसला र उनका इजलाशले गरेका आदेशहरुमा देखिएका विवादका विषयमा उजुरी दर्ता भएका थिए। उजुरीका आधारमा समितिका सदस्यहरुले उनलाई प्रश्न समेत सोधेका थिए । अर्को बैठक १६ गतेलाई बोलाइएको छ।



















प्रतिक्रिया दिनुहोस्