इटहरी, ४ साउन । सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाका प्रमुख स्व तारा सुब्बाको भोलि शनिबार शवयात्रापछि मात्र अन्तिम श्रद्धाञ्जलि अर्पणसहित दाहसंस्कार गरिने कार्यक्रम तय भएको उपमहानगरपालिकाले जानकारी दिएको छ ।
काठमाडाँैको ग्राण्डी अस्पतालमा गत साउन १ गते निधन भएको प्रमुख सुब्बाको पार्थिव शरीर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरी विभागमा राखिएको छ ।
उहाँको पार्थिव शरीर भोलि ११.३० बजेपछि नगरवासीको सामूहिक श्रद्धाञ्जलिका लागि धरान १२ को पब्लिक माविको खेल मैदानमा ल्याइने कार्यक्रम पनि तय गरिएको छ ।
धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन घिमिरेका अनुसार धरानवासीले अन्तिम दाहसंस्कार गर्नुअघि उहाँको पार्थिव शरीर पब्विलको खेल मैदानमा राखिने तथा त्यसपछि धरान उपमहानगरको मुख्य मुख्य स्थानमा शव यात्रासहित धरान १८ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहद्वारा संरक्षित वन क्षेत्रमा जातीय परम्परा अनुसार उहाँको अन्तिम श्रद्धाञ्जलिसहित दाहसंस्कार गर्ने कार्यक्रम तय भएको छ ।
उहाँको अन्तिम श्रद्धाञ्जलिसहित दाहसंस्कारका लागि सरकारका तर्फबाट उप–प्रधानमन्त्री ईश्वर पोख्रेलसहित अन्य नेताकोसमेत सहभागिता रहने तथा उहाँको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलिसहित दाहसंस्कार हुने उपप्रमुख मञ्जु भण्डारीले जानकारी दिनुभयो ।
स्व प्रमुख सुब्बा लामो समयदखि मधुमेह रोगबाट पीडित हुनुहुन्थ्यो भने पछिल्लो समयमा प्रमुख निर्वाचित भएपछि कामको अधिक चापले उहाँको स्वास्थ्यमा प्रतिकूल प्रभाव बढेको उहाँका निकटवर्तीले जानकारी दिनुहुँदै अधिक धपेडिकै कारणले उहाँको शरीरमा रोगको संङ्क्रमणको चाप थपिएको बताइएको छ ।
उहाँको निधनपछि अब धरान उपमहानगरपालिकाको प्रमुख पद प्रमुख विहीन बन्न पुगेको छ । त्यसैगरी धरानको– ७ का निर्वाचित वडा अध्यक्ष भुवन मोक्तानको पनि निधनपछि उक्त वडामा पनि वडा अध्यक्ष पद रिक्त बन्न पुगेको छ ।
प्रदेश एक अन्तर्गत धरान उपमहानगरपालिकाको प्रमुख र वडा अध्यक्षको निधनपछि ती पद खाली बन्न पुगेका छन्, भने संखुवासभा जिल्लाको मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवालको पनि गत पुसमा भचोटखोलामा जीप दुर्घटनामा परी मृत्यु भएको थियो ।








प्रतिक्रिया दिनुहोस्