काठमाडौं, २ जेठ । प्रतिनिधिसभाले आगामी असार १५ गतेसम्मको संसदीय क्यालेन्डर सार्वजनिक गरेको छ । तर, उक्त क्यालेन्डरमा प्रधानमन्त्रीसँग हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम समावेश गरिएको छैन ।
प्रतिनिधिसभा नियमावलीको नियम ५६ अनुसार प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था छ । नियमावलीमा सभामुखले यस्तो कार्यक्रमका लागि बैठकको पहिलो एक घण्टा निर्धारण गर्नुपर्ने उल्लेख छ ।
नियमावलीले कुनै कारणवश तोकिएको दिन बैठक बस्न नसके लगत्तै बस्ने बैठकमा कार्यक्रम सञ्चालन गर्नुपर्ने बाध्यकारी व्यवस्था पनि गरेको छ । तर, सार्वजनिक गरिएको नयाँ संसदीय क्यालेन्डरमा जेठ र असार दुवै महिनाका लागि प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम राखिएको छैन ।
नियमावलीअनुसार जेठ र असार महिनामा कम्तीमा दुई पटक प्रधानमन्त्रीसँग सांसदहरूले प्रत्यक्ष प्रश्न सोध्न पाउनुपर्ने भए पनि क्यालेन्डरमा त्यससम्बन्धी कार्यसूची नदेखिएको हो ।
संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले बजेट केन्द्रित छलफलका कारण प्रश्नोत्तर कार्यक्रम क्यालेन्डरमा समावेश नभएको बताएका छन् ।
संसदीय क्यालेन्डरअनुसार जेठ ४ गतेदेखि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु हुनेछ । जेठ १३ गते आर्थिक सर्वेक्षण पेश गरिनेछ भने १५ गते आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यसपछि जेठ १८ गतेदेखि बजेटमाथिको छलफल प्रारम्भ हुने तथा असार ८ गते आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गर्ने तालिका तय गरिएको छ ।








प्रतिक्रिया दिनुहोस्