पर्वत, २४ जेठ । पर्वतको महाशिला गाउपालीकामा बाँदरले स्थानियले लागएको बाली सखाप पारेको गुनासो दिन प्रतिदिन बढ्न थालेको छ । दिनदिनै यस्ता गुनासा आएपछि महाशिला गाउँपालिकाले बजेटै छुट्टयाएरै नियन्त्रण योजना अघि सारेको छ । गाउँपालिकाको दोस्रो गाउँसभाले मंगलबार बाँदर नियन्त्रणको संकल्प प्रस्तावसहित ३० लाखको योजना पारित गरेको हो ।
सबै वडामा बाँदर आतंक बढेको भन्दै जनप्रतिनिधिले नियन्त्रणका लागि हस्ताक्षरसहित गाउँसभामा संकल्प प्रस्ताव पेस गरेका थिए । गाउँसभामा बाँदर नियन्त्रणको संकल्प प्रस्ताव शतप्रतिशतले पारित गरेको गाउँपालिका अध्यक्ष राजु पौडेलले बताए ।
‘किसानको मागका आधारमा संकल्प प्रस्ताव आएको हो,’ उनले भने, ‘शतप्रतिशतबाट पास भयो । अब कार्यान्वयन चरणमा जान्छौं ।’ महाशिलाका सबै वडामा बाँदरले हैरान पारेपछि किसानले पनि नियन्त्रणको माग गर्दै आएका थिए ।
भोक्सिङ, लुंखु, बालाकोट, पाखापानी र होश्राङीमा बाँदरले मकै, कोदो, गहुँ, धान, फलफूल र तरकारी बाली सखाप पारेको किसानले बताएका छन् ।
महाशिलाको साढे ४९ वर्गकिमि क्षेत्रफलमध्ये करिब २५ वर्गकिमि खेतीयोग्य जमिन छ । केही वर्षयता बाँदर आतंककै कारण कतिपयले बाली लगाउन छाडेका छन् । ‘बाँदर आतंक बढेपछि किसानले बाली लगाउनै छाडे,’ ५ नम्बर वडाध्यक्ष जीवनविक्रम उचैठकुरीले भने, ‘बाँदरकै कारण जमिन बाँझिएपछि संकल्प प्रस्ताव ल्याएका हौंं ।’ गाउँसभाले प्रस्ताव गरेको ३० लाख बजेटबाट बाँदर नियन्त्रण गर्न व्यवस्थित खोर बनाइनेछ । वडैपिच्छे बनाइएका खोरमा गाउँपालिकाले बाँदर समातेर राख्ने व्यवस्था मिलाउनेछ ।
गाउँपालिकाले सुरु गरेको एक घर, एक रोजगार कार्यक्रममार्फत तालिमप्राप्त युवालाई बाँदर समात्न खटाउने योजना गाउँसभाले तय गरेको छ । यसका लागि युवालाई विशेष तालिम दिइँदै छ । यो कार्यक्रमबाट बाँदर आतंक हट्ने मात्रै नभई युवालाई रोजगारीसमेत मिल्नेछ ।
गाउँसभाले आगामी वर्ष एक हजार बाँदर समात्ने योजना बनाएको छ । ‘बाँदर केही दिन खोरमा राखेर राष्ट्रिय निकुञ्जमा पठाइन्छ,’ वडाध्यक्ष उचैठकुरीले भने, ‘प्रदेश र केन्द्र सरकारसँग कुरा हुँदैछ । एक हजार बाँदर नियन्त्रणमा लिँदा पनि समस्या समाधान नभए आगामी वर्ष थप बजेट निकासा गरिने अध्यक्ष पौडेलले बताए । ‘मानिस र वन्यजन्तु बीचमा द्वन्द्व नबढोस् भन्ने मुख्य ध्येय हो,’ उनले भने । गाउँसभाको यो निर्णयको किसानले स्वागत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्