जनकपुर, २३ जेठ । प्रदेश नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टीका सांसदले झापड खाएका छन् ।
तत्कालीन एमालेकी समानुपातिक सांसद मञ्जु यादवले धनुषाको क्षेत्र नं. १ (क) बाट निर्वाचित सांसद किशोरी साहलाई झापड हानेकी हुन्। नेकपा संसदीय दलको कार्यालयमा मंगलबार भएको घटना बुधबारमात्रै सार्वजनिक भएको हो ।
स्रोतका अनुसार, योजना कम्प्यटुरमा टाइप गर्ने विषयमा सांसद यादव र कम्प्युटर अपरेटरबीच विवाद भएको थियो । सांसद यादव आफ्नो योजना आफै टाइप गर्छु भनेपछि केहीबेर भनाभन भएको थियो ।
त्यही विवादका बीचमा आक्रामक रुपमा प्रस्तुत भएका सांसद साहले सांसद यादवलाई ‘बकबक गर्छस्, बढी बोले २ झापड हान्छु’ भन्दै दुर्व्यवहार गरेका थिए।
सांसद साहको अपशब्द सुनेपछि आक्रोसित भएकी सांसद यादवले झापड प्रहार गरेकी थिइन्। सांसदले सांसदलाई नै कुटेपछि केहीबेर तनाव भएको थियो ।
सांसद साहलाई झापड हान्दा संसदीय दलका नेता सत्यनारायण मण्डल र अर्का सांसद नागेन्द्र साह पनि संँगै थिए । तर, उनीहरु पनि रमिते बनेका थिए ।
सांसदको झापड काण्डले नेकपाभित्र विवाद चर्किएको छ। यो घटना मंगलबार प्रदेशसभा बैठक सकिएपछिको हो ।
प्रतिक्रिया दिनुहोस्