धरान, १२ जेठ। तरुण दल सुनसरीका सभापति सिजन गुरुङ शुक्रबार राति पक्राउ परेका छन् । उनलाई गुण्डागर्दीको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
उनलाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले पक्राउ गरेको डिएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए । गुरुङलाई पछिल्लोपटक तरहराकी तीर्थकुमारी गिरीको १० धुर जग्गा कब्जा गरेको र सो जग्गामा बनाइएको घरबाट २०६८ सालदेखि भाडा असुल्दै आएको आरोप लागेको छ । यद्यपि नेता गुरुङले भने सो जग्गा आफ्नै भएको बताउँदै आएका छन् ।
निकै विवादित छविका गुरुङ यसअघि इटहरीको एक बलात्कार काण्डमा समेत मुछिएका थिए । यसअघि २०७१ सालमा ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा भेडेटारबाट सिजन गुरुङलाई प्रहरीले पक्रिएको थियो । त्यसविरुद्ध उनका समर्थकले चक्काजाम लगायतका दबावमुलक आन्दोलन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्