काठमाडौं, ४ जेठ । गृहमन्त्री रामबहादुरथापाले सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको पालनाका लागि कडाइका साथ लाग्न ट्राफिक प्रहरीलाई निर्देशन दिएपछि ट्राफिक नियममा कडाइ शुरु भएको छ । काठमाडौँ उपत्यकामा तीनपांग्रे टेम्पुमा सिट संख्याभन्दा बढी यात्रु राख्न नपाइने व्यवस्था कडाइका साथ लागू गरिएको छ । आगामी आइतबारदेखि माइक्रोबसमा समेत सिट संख्याभन्दा बढी यात्रु राख्न नपाउने व्यवस्थालाई कडाइपूर्वक लागू गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यस्तै मिटरमा चल्न नमान्ने ट्याक्सी र मिटर जडान नगरेको ट्याक्सीलाई समेत कारवाही शुरु गरिएको छ । मिटर जोड्न बाँकी रहेका ट्याक्सीको विवरण गुणस्तर विभागबाट आजै ट्राफिक महाशाखाले मगाएको छ । त्यस्ता ट्याक्सीलाई कारवाही गर्ने तयारी महाशाखाले गरेको छ ।

ट्राफिक नियम उल्लंघन गर्दा तिराइने जरिवाना कम रहेका कारण सवारी चालकले ट्राफिक नियम उल्लंघन बढी गर्ने गरेकोे गुनासो आजको बैठकका सहभागीले गरेपछि गृहमन्त्रीले आवश्यकतानुसार जरिवाना शुल्कसमेत बढाउन निर्देशन दिनुभएको थियो । हाल ट्राफिक नियम उल्लंघन गर्दा रु ५०० देखि  एक हजारसम्म मात्रै जरिवाना रहेकामा यसलाई बढाएर  तीन हजारदेखि पाँच हजारसम्म पुर्याउने प्रक्रिया यातायात व्यवस्था विभागले शुरु गरेको छ । ट्राफिक नियमलाई कडाइ गर्न सके सवारी जामको समस्या र दुर्घटनाको घटनामा उल्लेख्य कमी आउने ठहरसहित ट्राफिक जरिवाना बढाउन लागिएको हो ।

त्यसैगरी सिंहदरबारभित्र जथाभावी सवारी पार्किङ भएकाले अब निश्चित ठाउँमा मात्रै सवारी पार्किङको व्यवस्था गर्न लागिएको छ । यसका लागि सिंहदरबारभित्र पार्किङका लागि उपयुक्त स्थानको खोजी भइरहेको छ । पार्किङस्थलको पहिचान भएलगत्तै मन्त्रीबाहेक अन्यको गाडी पार्किङस्थलमा मात्रै राख्ने गरी आवश्यक तयारी भइरहेको छ ।