काठमाडौँ, २३ बैशाख । काठमाडौंका विभिन्न पसलबाट पुरातात्विक महत्वका विभिन्न धातुबाट बनेका मूर्तिलगायत चिज बस्तुहरू बिदेशीलाई बिक्री वितरण गरेको आरोपमा प्रहरीले तीन जना व्यवसायीलाई पक्राउ गरेको छ।
दरबारमार्गस्थित क्यूरियो आर्टमा पुरातात्विक महत्वका बहुमूल्य धातुको मूर्तिलगायत चिज बस्तुहरूलाई १२औं, १३औं शताब्दी (८००/९०० वर्ष पुरानो) को हो भन्दै करोडौं मूल्यमा बिक्री गर्न लाग्दा उक्त आर्ट पसलका सञ्चालक दीपक रत्न शाक्य १२ वटा मूर्तिसहित पक्राउ परेका छन्।
पक्राउ पर्नेहरुमा दरबारमार्ग (काठमाडौं) स्थित क्युरियो आर्टका सञ्चालक ५६ वर्षका दीपकरत्न शाक्य, क्युरियो कन्सर्नका २९ वर्षका सुगतरत्न शाक्य र देबाज आर्टका सञ्चालक ३१ वर्षका शिशिर शाक्य रहेको सिआइबीले जनाएको छ । ब्यूरोका अनुसार शाक्यत्रयले बहुमूल्य धातुका मूर्तिलगायतका बस्तु १२ औं, १३ औं, शताब्दीको भन्दै करोडौं मूल्यमा बिक्री गर्न खोजेका थिए ।
उनीहरुका साथबाट प्रहरीले बुद्धका र अन्य २४ वटा मूर्ति, विभिन्न धातुबाट बनेका पातासहितका प्रतिमा १८ वटा, बीचमा प्वाल भएका १ सय १ वटा पुराना सिक्का बरामद गरेको छ । । एक सय वर्षभन्दा पुरानो मूर्तिको कारोबारमा प्रतिबन्ध भए पनि उनीहरुले नयाँलाई पुरानो तथा पुरानोलाई नयाँ बनाएर यस्तो कारोबार गर्दै आएको अनुसन्धानमा खुलेको छ । एउटा मूर्तिको उनीहरुले करोडौं मूल्य लिने गरेका थिए।
विदेशीहरुलाई मूर्तिजन्य चिजबस्तुहरु बिक्री बितरण गर्दा पुरातत्व विभागबाट त्यस्तो बस्तुको निर्यात अनुमति स्वीकृति लिने गरेको र बिदेशमा मूर्तिजन्य बस्तुहरु एचएलके इन्टरप्राइज (कार्गाे) बाट पठाउने गरेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्