काठमाडौं, १२ वैशाख । त्रिभुवन विश्वविद्यालय फरेन्सिक मेडिसिन विभागले भूकम्पमा परी ज्यान गुमाएका मानिसको शव सुरक्षित तवरले गाडेर राखेको छ ।
२०७२ वैशाख १२ को महाभूकम्पमा परी ८ हजारभन्दा बढीको ज्यान गएको थियो । भूकम्पको तेस्रो स्मृति दिवस भइरहँदा ज्यान गुमाएकामध्ये ३१ शव पोस्टमार्टम भए पनि अझै सनाखत भएको छैन ।
सनाखत हुन बाँकी शव त्रिवि फरेन्सिक मेडिसिन विभागले जुनसूकै बेला निकाल्न सक्ने गरी सुरक्षित रुपमा गाडेको छ ।
‘भूकम्प आएपछि महिनौँसम्म विभागभित्र छिरिसक्नु थिएन । जताततै शव थिए । विभागवरिपरि दुर्गन्धित थियो,’ डा. वस्तीले भने, ‘सनाखत हुन नसकेका शव व्यवस्थापन गर्न कठिनाइ भएका कारण भुकम्प गएको लगभग ११ महिनापछि अर्थात चैत ५ गते व्यवस्थित रूपले गाडिएको हो ।’
विभाग अगाडिको खाली आठ आना जग्गाको एक छेउमा अंग्रेजी अक्षरको एल आकारमा ३२ शव गाडिएको डा. वस्तीले जानकारी दिए । उनले भने, ‘आठ आना जग्गाको उत्तर पट्टीको छेउमा हालसम्म शवहरू नगाडेको स्थान थियो । दश जना मजदुरलाई तीन दिन सम्म खाडल खन्न लगाएर शव गाडिएको छ । शव गाड्दा एकले अर्को शव छोइएको छैन ।’
अंग्रेजी अक्षरको एल आकार बनाएर प्रत्येक खाडल पाँच फिट गहिरो खनिएको छ । गाड्दा एक शवले अर्को शवलाई छोएको छैन । १६ शव ठाडो लाइनमा र १६ शव तेर्सो लाइनमा राखेर गाडिएको छ । हरेक शवसँगै फलामको नम्बर प्लेट राखिएको छ । सहजै पहिचान गर्न जमिनमाथि पनि नम्बर प्लेट राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्