हुम्ला : हुम्लाको दुर्गम चंखेली गाउँपालिका–५ अन्तर्गत पर्ने नेप्का गाउँमा गएराति आएको भीषण बाढीपहिरोले ठूलो भौतिक क्षति पुर्याएको छ। स्थानीयका अनुसार असिना र भारी वर्षासहित आएको बाढीले गाउँको संरचना, कृषि र पशुपालन क्षेत्रलाई गम्भीर रूपमा प्रभावित बनाएको छ।
सबैभन्दा ठूलो क्षति डाँफे आधारभूत विद्यालयमा पुगेको छ, जसलाई बाढीले पूर्ण रूपमा बगाएको बताइएको छ। यससँगै गाउँका विभिन्न स्थानमा रहेका गोठहरू पनि पहिरोले पुरिँदा भेँडाबाख्रामा ठूलो क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ।
स्थानीय बासिन्दा छक्कबहादुर तामाङका अनुसार, “राति अचानक आएको बाढीले गाउँलाई तहसनहस बनायो। विद्यालय, गोठ र खेतीयोग्य जमिन सबैमा ठूलो क्षति पुगेको छ।”
वडाध्यक्ष हर्कधन तामाङले आफ्नो र धनसिंह तामाङको गोठ पहिरोले पुरिएको पुष्टि गर्दै क्षतिको यकिन विवरण अझै आउन बाँकी रहेको जानकारी दिए।
उनले भने, “म गाउँपालिकाको केन्द्रमा छु। राति गोठ पुरिएको खबर आएको छ, भेँडाबाख्रा पनि पुरिएका छन् भन्ने सुनेको छु, थप विवरण संकलन भइरहेको छ।”
गाउँमा मुख्य रूपमा कोदो खेती हुने जमिनमा पनि बाढीले गम्भीर क्षति पुर्याएको छ। स्थानीयका अनुसार धेरैजसो खेतबारी बगाएर नष्ट भएको छ।
“जग्गा पूरै तहसनहस भएको छ, के बाँकी छ भन्ने पनि थाहा छैन,” वडाध्यक्ष तामाङले भने।
हालसम्म मानवीय क्षतिको कुनै पुष्टि भएको छैन। तर घटनाको पूर्ण विवरण आउन अझै समय लाग्ने देखिएको छ, किनकि नेप्का गाउँ अत्यन्त दुर्गम क्षेत्रमा पर्छ।
घटनाको जानकारी पाएलगत्तै मेल्छाम प्रहरीचौकीबाट प्रहरी टोली आज बिहान घटनास्थलतर्फ प्रस्थान गरेको छ। प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले भने, “बाढीपहिरोबाट क्षति भएको सूचना आएको छ। स्थानीय र सुरक्षाकर्मीमार्फत् विस्तृत विवरण संकलन भइरहेको छ।”
नेप्का गाउँ हुम्लाको सदरमुकाम सिमकोटबाट उत्तर–पूर्वमा पर्ने चंखेली गाउँपालिकाको एक दुर्गम बस्ती हो। यहाँसम्म मोटरबाटो नपुगेकोले गाउँपालिकाको केन्द्रसम्म पुग्नसमेत करिब पाँच घण्टा जोखिमपूर्ण पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको छ।
यस प्राकृतिक विपत्तिले दुर्गम क्षेत्रका बासिन्दाको असुरक्षित जीवनशैली र पूर्वाधार अभावलाई पुनः उजागर गरेको छ। स्थानीयले तत्काल राहत, पुनर्स्थापना र दीर्घकालीन विपद् व्यवस्थापनमा सरकारको ध्यान जानुपर्ने माग गरेका छन्।








प्रतिक्रिया दिनुहोस्