रुकुमपूर्व : हिमाली भेगको चिसो हावामा फागुनको घामले पनि न्यानो पार्न सकेको छैन । तर रुकुमपूर्वका गाउँ–गाउँमा अहिले एउटा अर्कै ताप छ – पुष्पकमल दाहाल ‘प्रचण्ड’को आगमनले । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीमा व्यस्त देशभरका दलहरूबीच पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड माघ २९ देखि आफ्नो निर्वाचन क्षेत्र रुकुमपूर्वका टोल–टोल, गाउँ–गाउँ पुगिरहनुभएको छ ।

जतिजति उहाँ पुग्नुहुन्छ, त्यति नै ठूलो स्वागत । फूलका माला, अबिर, खादा, स्थानीय गीतसंगीत, झाँकी र नाचगानसँगै गाउँलेहरूले प्रचण्डलाई ‘घर फर्केको छोरो’ जस्तै स्वागत गरिरहेका छन् । नयाँ जिल्लाको रुपमा स्थापित रुकुमपूर्वमा ‘नयाँ विकासको नयाँ मोडेल’ चाहिन्छ भन्ने स्थानीयको अपेक्षा प्रचण्डसँग जोडिएको छ ।

‘देश बदल्ने नेताले जिल्ला पनि बदलोस्’

पुथाउत्तरगङ्गा गाउँपालिका–१२ कोलका सुजन पुनमगर प्रचण्डलाई भेटेर भावुक भए । “जसले देशको व्यवस्था नै फेरिदियो, त्यही नेतृत्वले हाम्रो नयाँ जिल्लालाई पनि नयाँ ढंगले विकास गर्न सक्छ भन्ने विश्वास छ,” उहाँले भन्नुभयो, “पार्टी जुनसुकै भए पनि जिल्लाको विकासका लागि प्रचण्डलाई अत्यधिक मत दिएर जिताउनुपर्छ ।”
भूमे गाउँपालिका–६ की धनकुमारी विकको भनाइ अझ स्पष्ट छ । “यो जनताको व्यवस्था, गणतन्त्र ल्याउने पार्टी र नेतृत्वलाई मत दिएर गणतन्त्रलाई थप बलियो बनाउने अवसर हो,” उहाँले सुनाउनुभयो, “जनताको व्यवस्थालाई कमजोर पार्न विभिन्न शक्ति लागिरहेका छन् । त्यसैले गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री प्रचण्डलाई जिताउनुपर्छ ।”
यी दुई भनाइ मात्र होइनन् । सिस्ने, भूमे, पुथाउत्तरगङ्गा, आठबिसकोटका हरेक गाउँमा यस्तै स्वर सुनिन्छ । बुढापाका, युवा, महिला, दलित, जनजाति सबैको एउटै माग छ – हिमाली जिल्लाको पूर्वाधार विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र पर्यटनको तीव्र गति ।
जिल्ला संयोजकको दाबी : ‘अत्यधिक मतको माहोल’

नेकपाका जिल्ला संयोजक कुमारी बराल गौतमले भन्नुभयो, “गाउँ–गाउँमा प्रचण्डको स्वागत हेर्दा विगतका निर्वाचनभन्दा फरक माहोल छ । जनताले पार्टी मात्र होइन, प्रचण्ड व्यक्तिलाई पनि विश्वास गर्नुभएको छ । विगतमा पार्टीले जित्दै आएको क्षेत्रमा यसपटक प्रचण्डलाई अत्यधिक मत दिएर पठाउने वातावरण बनेको छ ।”
बरालका अनुसार प्रचण्डको भ्रमणले स्थानीय कार्यकर्ता र मतदातामा नयाँ ऊर्जा थपिएको छ । “यो स्वागतले प्रचण्डले ठूलो मतान्तरले जित्ने देखिन्छ,” उहाँको दाबी छ ।
आज र भोलिको कार्यक्रम
आज मङ्गलबार बिहान सिस्ने गाउँपालिका–२ नायगाडमा जनभेटघाट कार्यक्रम छ । दिउँसो सोही स्थानमा ठूलो जनसभा आयोजना गरिएको छ । भोलि बुधबार सिस्ने गाउँपालिकाका वडा नं ३, ४, ५, ६, ७ र ८ का विभिन्न गाउँमा जनभेटघाट र सभा हुने नेकपाले जनाएको छ ।
प्रचण्डको उपस्थितिमा हुने यो पहिलो चरणको चुनावी कार्यक्रम माघ ६ गते सकिनेछ । त्यसपछि जिल्लाका अन्य नेताहरूले बाँकी क्षेत्रमा अभियान सञ्चालन गर्नेछन् ।
नयाँ जिल्ला, नयाँ आशा
२०७५ सालमा रुकुम जिल्ला विभाजन भएपछि पूर्वी भाग अलग्गै जिल्ला बनेको छ । सडक, विद्युत्, सञ्चार, स्वास्थ्यचौकी, विद्यालय, पर्यटन पूर्वाधार – यी सबैमा स्थानीयले अझै ठूलो अपेक्षा राखेका छन् । प्रचण्डको नेतृत्वमा पहिले देशको राजनीतिक व्यवस्था बदलियो, अब त्यही नेतृत्वले आफ्नो जिल्लालाई पनि ‘मोडेल जिल्ला’ बनाओस् भन्ने उनीहरूको चाहना छ ।
गाउँका बाटामा प्रचण्डसँग हात मिलाउँदै, फोटो खिचाउँदै, आफ्ना समस्या सुनाउँदै गरेका स्थानीयको अनुहारमा एउटा कुरा स्पष्ट छ – उनीहरूले नेतासँग विकास मात्र होइन, आफ्नो जिल्लाको पहिचान र गर्व पनि खोजिरहेका छन् ।

रुकुमपूर्वका पहाडहरू अहिले फागुनको घाममा चम्किरहेका छन् । तर यी पहाडभन्दा चम्किलो आशा बोकेर प्रचण्डको टोली गाउँ–गाउँ घुमिरहेको छ । अब फागुन २१ को मतपरिणामले यो आशालाई कति पूरा गर्छ, त्यो त पर्खनै बाँकी छ । तर अहिलेका लागि रुकुमपूर्वका गाउँलेहरू प्रचण्डलाई ‘आफ्नो नेता’ ठानेर भव्य स्वागत गरिरहेका छन् ।








प्रतिक्रिया दिनुहोस्