काठमाडौं ६ माघ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ताको पहिलो दिन दिउँसो २ बजेसम्म देशभर ८६१ जनाले मनोनयन दर्ता गराएका छन्। निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार बिहान १० बजेदेखि सुरु भएको प्रक्रिया साँझ ५ बजेसम्म चल्नेछ।
१६५ वटै निर्वाचन क्षेत्रस्थित मुख्य निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारी दर्ताको क्रम तीव्र बनेको छ। राजनीतिक दलका शीर्ष नेताहरू पनि क्रमशः निर्वाचन कार्यालय पुगिरहेका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट उम्मेदवारी दर्ता गराइसकेका छन्। त्यस्तै नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन पनि उम्मेदवारी दर्ताका लागि निर्वाचन कार्यालय पुग्ने तयारीमा छन्।
निर्वाचन आयोगका अनुसार यसपटकको निर्वाचनका लागि १४३ राजनीतिक दल दर्ता भएका छन्, जसमा २५ वटा नयाँ दलसमेत छन्। आयोगले निर्धारित समयभित्र उम्मेदवारी दर्ता गर्न सबै दल र उम्मेदवारलाई आग्रह गरेको छ।








प्रतिक्रिया दिनुहोस्