काठमाडौं ६ माघ । नेपाली कांग्रेसको नेतृत्व विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस सकिएको छ। निवर्तमान सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगको निर्णयविरुद्ध दायर गरेको रिटमा मंगलबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा सुनुवाइ सम्पन्न भएको हो।
निर्वाचन आयोगले विशेष महाधिवेशनमार्फत निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि देउवा पक्ष अदालत गएको हो। निवेदकका तर्फबाट पूर्वमहान्यायाधीवक्ता खम्मबहादुर खातीसहितका कानुन व्यवसायीहरूले आयोगले एकतर्फी रूपमा मात्रै कुरा सुनेर निर्णय गरेको दाबी गरे।
बहसका क्रममा अवैधानिक विशेष महाधिवेशनबाट बनेको नेतृत्वलाई चुनावी प्रक्रिया, विशेषतः टिकट वितरण गर्न नदिनुपर्ने तर्क अघि सारियो। निर्वाचन हुन अझै करिब ४० दिन बाँकी रहेको भन्दै मनोनयन प्रक्रिया यथास्थितिमा राख्न सकिने दाबी पनि देउवा पक्षले गरेको छ।
रिटमा विशेष महाधिवेशनलाई अवैधानिक ठहर गर्दै कार्यसमिति भंग गर्न र माघ ६ गते भएको मनोनयन प्रक्रिया रोक्न माग गरिएको छ। मनोनयन भइसकेको अवस्थामा नयाँ मिति तोक्नुपर्ने माग समेत सर्वोच्चमा राखिएको छ।
बहस सकिएकाले अदालतले आजै आदेश दिने सम्भावना रहेको छ। सर्वोच्चको निर्णयले कांग्रेसको वर्तमान नेतृत्व र आगामी निर्वाचन प्रक्रियामा निर्णायक प्रभाव पार्ने अपेक्षा गरिएको छ।








प्रतिक्रिया दिनुहोस्