ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी आन्दोलन पुनर्गठन गर्न भन्दै बाबुरामले भनेको ‘किनारा पुँजीवाद’ के हो ?


ABC News

काठमाडौं २७ असार। माओवादीबाट अलग भएर अनेक हण्डर ठक्कर खाँदै नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्ष बनेको डा.बाबुराम भट्टराईले माओवादी आन्दोलन पुनर्गठनको रूपरेखा अगाडि सारेका छन् ।

शुक्रबार सामाजिक सञ्जालमा एउटा लामो सन्देश साझा गर्दै माओवादी आन्दोलनका नेता समेत रहेका डा. भट्टराईले नेताहरू विभाजित भएकोले माओवादी आन्दोलन कमजोर भएको भन्ने भाष्यको प्रतिवाद गरेका छन् ।

उनले अहिलेको नेपालका समस्याहरू हल गर्न हिजोको माओवादको वैचारिक–राजनीतिक घेराभित्र मात्र सीमित भएर सम्भव नहुने तर्क गर्दै भट्टराईले समाजवादका नाममा किनारा पुँजीवादमा अल्झने खतरा उत्पन्न भएको बताएका छन् ।

‘पछिल्लो ज्ञानविज्ञानले समृद्ध नयाँ विचार, दर्शन, राजनीतिको पुनर्संश्लेषण जरूरी छ। त्यसनिम्ति माओवादी र अन्य कम्युनिष्ट धारका नेता(कार्यकर्ताहरूले सिर्जनशील ढंगले सोच्न र पहल लिन जरूरी छ,’ उनले भनेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका डा। भट्टराईले थपेका छन्, ‘विगतका कम्युनिष्ट सत्ताहरू किन ढलेरु संसदीय कम्युनिज्म किन लोप हुँदै गइरहेछरु तिनको वस्तुनिष्ठ ढंगले सोधखोज गरेर देश, काल सापेक्ष नयाँ वैकल्पिक राजनीतिको संश्लेषण गर्नु आजको आवश्यकता हो।’

यस्तो छ डा. भट्टराईको माओवादी आन्दोलनबारे ६ बुँदे समीक्षा र पुनर्गठनको रूपरेखाः

माओवादी आन्दोलनसँग जोडिएका तर अहिले विभिन्न धारमा छरिएका साथीहरूबीच एउटा सोच पछिल्लो चरणमा निकै झांगिदै गएको प्रतीत हुन्छ, ‘नेताहरू फुटेकाले आन्दोलन कमजोर भयो; त्यसैले सबै जना फेरि एकजुट हुनसके सबैथोक ठीक हुन्छ।’

यो एकदम पवित्र तर बालसुलभ बुझाइ र सोच हो। यसबारे तथ्य र तर्कसहित प्रष्ट पार्न ठूलै ठेली आवश्यक पर्छ। जुन समयक्रममा हुँदै जाला। अहिले चाहिं केही सरल प्रश्न र उत्तरको रूपमा प्रस्तुत गर्नु उपयुक्त होला।

१. नेपालको माओवादी आन्दोलन सफल हो कि असफल?

संक्षिप्तमा भन्नुपर्दा नेपालको माओवादी आन्दोलन सापेक्ष रूपले निकै सफल आन्दोलन हो। विश्वमा नै सन् १९७५ को क्याम्बोडियाको क्रान्ति (जुन पछि पथविचलित भयो) पछि बिसौं शताब्दीको अन्त्य र एक्कइसौं शताब्दीको शुरूमा नेपालको मात्र एक सफल सशस्त्र क्रान्ति हो।

(स्मरण रहोस्, यस्तै माओवादी क्रान्तिकारी आन्दोलनहरू ठूलो बलिदानपछि विश्वमा अन्यत्र कि त पूरै ध्वस्त भएर गएका छन् कि त घिटीघिटी चलिरहेका मात्र छन्। उदाहरणार्थ, पेरूमा संस्थापक नेता गोन्जालोको २९ वर्ष जेलमै बसेर निधन भएको छ; आन्दोलन समाप्तप्रायः भएको छ ।

सन् १९६७ देखि संघर्ष चल्दै आएको भारतमा हालै पार्टीका महासचिवको सरकारी सैन्य कारबाहीमा निधन भएको छ; अनि आन्दोलन कछुवाको गतिमा छ। टर्कीमा २६ वर्षदेखि जेलमा राखिएका प्रमुख नेता अबदुल्लाह ओकालानले हालै आन्दोलनलाई बीचैमा निशस्त्र गर्ने एकतर्फी घोषणा गरेका छन्।

फिलिपिन्समा झण्डै साठी वर्षदेखि चल्दै आएको सशस्त्र आन्दोलन संस्थापक नेता जोस मारिया ससनको मृत्यु र नयाँ नेताहरूको राज्यद्वारा हत्यापछि आन्दोलन ठहरावको अवस्थामा छ।)

२. कुन अर्थमा सफल? अनि किन ‘सापेक्ष रूपले‘ मात्र सफल?

क्रान्तिकारी आन्दोलनमा थुप्रै मागहरू हुन्छन्। तीमध्ये कुनै प्रमुख र कुनै सहायक मागहरू हुन्छन्।अनि कुनै तात्कालिक (कार्यनीतिक) र कुनै दीर्घकालीन (रणनीतिक) महत्वका माग हुन्छन्। जनबोलीको भाषामा हामीले त्यतिवेला सरकारसमक्ष प्रस्तुत गरेका ४०-सूत्रीय मागहरूमध्ये क्रान्तिको यो चरणमा ‘जनतन्त्र’सँग सम्बन्धित मागहरू नै प्रमुख माग हुन् ।

तीमध्ये पनि निर्वाचित संविधानसभाबाट गणतन्त्रात्मक संविधान बनाउने कुरा नै सबभन्दा महत्वपूर्ण माग हो। यो मुख्य माग लगायत अरू संघीयता, धर्मनिरपेक्षता, महिलाका अधिकार, दलितका अधिकार आदि संविधानमा नै व्यवस्था गर्न सकिएकाले यो माओवादी आन्दोलनको ठूलो उपलब्धी हो। यसमा टेकेर अरू माग पूरा गर्दै जाने हो। त्यस अर्थमा आन्दोलन सफल हो।

अनि ‘सापेक्ष रूपले’ चाहिं किनकि पार्टीको नेतृत्व पंक्तिमा बेलैमा बुझाइमा एकरूपता कायम हुन सकेको भए अझै बढी उपलब्धी पनि हुनसक्दथ्यो। त्यो हुन नसक्दा कतिपय कुरा गुमेका पनि छन्। साथै, राजनीतिक रूपले विजय हासिल गरे पनि फौजी रूपले पूर्ण विजय हासिल गर्न नसक्दा र आन्तरिक तथा बाह्य शक्तिसन्तुलन पनि हेर्नु पर्ने हुँदा ‘शान्ति-सम्झौता’ मार्फत प्राप्त सफलतालाई ‘सापेक्ष रूपले’ सफल भन्नु सही र उपयुक्त हुन्छ।

३. तत्कालीन माओवादी पार्टीभित्र मुख्य गल्ती कहाँ कहाँ भए त?

राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति र शक्तिसन्तुलनको ठीक मूल्यांकन गरेर शान्तिप्रक्रियामा आइसकेपछि पनि मुख्य नेतृत्वमा रहेका क. प्रचण्डको पटकपटकको ढुलमुले र मौकापरस्त अडान र नीतिले गर्दा आन्दोलनमा सम्भावित थप उपलब्धि हासिल गर्न हामी चुक्यौं।

पहिलो, २०६४ श्रावणको काठमाण्डौ बालाज्यू भेला/बैठकमा क.प्रचण्डले प्रयोग गरेको र पार्टीभित्र जिब्रोमा गडेको ‘मुखमा संविधानसभाको निर्वाचन, मनमा सशस्त्र विद्रोह’को दोधारे कुराले पार्टीमा तलसम्म गहिरो विभाजन ल्यायो, जनसमुदायमा समेत भ्रम छर्‍यो र पार्टीलाई पछिसम्म अपूरणीय क्षति पुर्‍यायो।

दोस्रो, २०६७ मंसीरमा गोरखा पालुङटारमा भएको विस्तारित बैठकमा बाबुराम पक्षको संविधान बनाउने, किरण पक्षको विद्रोहको तयारी गर्ने र प्रचण्ड पक्षको पर्ख र हेर भन्ने अढाइ-लाइनको संघर्षमा पार्टीले कुनै निर्णय गर्न सकेन। त्यसको एक महिना पछि २०६७ पुसमा काठमाण्डौमा भएको केन्द्रीय समितिको बैठकमा ‘किरणसँग एकता प्रधान, बाबुरामसँग संघर्ष प्रधान’ भन्ने क. प्रचण्डको अर्को चर्चित महावाणी आयो।

केही महिनापछि (सायद २०६८ वैशाख?) सिन्धुपाल्चोक सिकुटेममा भएको बैठकमा क. प्रचण्ड संविधान निर्माण गरेर अघि बढ्ने बाबुरामको लाइनमा आएपछि बल्ल संविधान निर्माणले बाटो समात्यो। त्यति बेलासम्म परिस्थिति निकै प्रतिकुल बन्दै गैसकेको थियो।

तेस्रो, २०६९ जेठ २ गते मेरो प्रधानमन्त्रीत्व कालमा कांग्रेस, एमाले सहितको सहभागितामा संविधानका बाँकी सबै प्रमुख असहमतिका बुँदामा सहमति कायम भएको थियो। जस्तै- फ्रान्सेली मोडेलको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र संसदबाट अनुमोदित प्रम, पहिचान सहितको ११ प्रदेशको संघीयता, संवैधानिक अदालत आदि। तर त्यसमा आफ्नै पार्टीभित्रबाट समेत बिरोध भएर अन्ततः भाँडिनु ठूलो गल्ती मात्र नभएर अपराधै भयो।

यदि त्यो सहमति कायम भएको भए पहिलो संविधानसभाबाट २०६९ जेठ १४ गते संविधान जारी हुन्थ्यो र माओवादी आन्दोलनको उपलब्धी नेपाली इतिहासमा युगौं युगसम्म स्थापित हुन्थ्यो।

४. तैपनि विश्वमा कतै माओवादी आन्दोलन सफल नभएको वेला नेपालमा चाहिं यति उपलब्धी कसरी भयो त?

– किनकि हामीले कुनै पनि ‘वाद’ लाई यान्त्रिक जडसूत्रको रूपमा नलिएर एउटा मार्गदर्शक विज्ञानको रूपमा लियौं र आफ्नै देश र समाजको सापेक्षतामा सिर्जनात्मक ढंगले प्रयोग गर्यौं। वर्गलाई मात्र नहेरेर जाति,क्षेत्र,लिंग,समुदायलाई पनि हेर्यौं। सशस्त्र र शान्तिपूर्ण संघर्ष, गाउँ र शहर, खुला र भूमिगत, वैधानिक र अवैधानिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय,राजनीतिक र आर्थिक-सामाजिक, स्थूल र सूक्ष्म, संसदीय र गैरसंसदीय आदि पूरक र भिन्न प्रवर्गको सन्तुलन मिलाएर अघि बढ्ने नीति लियौं। मुख्य कुरा रणनीतिमा दृढ हुॅदै कार्यनीतिमा लचिलो बन्यौं। क्रान्ति र शान्ति विपरितार्थी हैन पूरक तत्व हुन् भन्ने सावित गर्यौं। त्यसैले नेपालको माओवादी आन्दोलन अरू देशको भन्दा भिन्न रह्ये र सफलताको सिंढी चढ्न सक्यो।

५. त्यत्रो क्रान्तिकारी आन्दोलन अहिले कसरी स्खलित भयो त?

– पूरै क्रान्ति र आन्दोलन स्खलित भएको हैन। समाज विकासको नियम अनुसार क्रान्तिको एउटा चरण आफ्नै मौलिकता सहित पूरा भएर नयाँ चरणमा प्रवेश गरेको हो। नेपालमा आफ्नै मौलिकता सहित, माओवादी भाष्यमा भन्दा, पूँजीवादी जनवादी क्रान्तिको चरण पूरा भएर नयाँ ढंगको समाजवादी रूपान्तरणको चरणमा प्रवेश गरेको हो। यसलाई बुझ्ने र लागू गर्ने विषयमा मूल नेतृत्वपंक्तिमा बुझाइको समस्या र सांस्कृतिक रूपमा भयंकर स्खलन र विचलन आजको मुख्य समस्या हो।

त्यो स्खलन आज अकस्मात पलाएको नभई जनयुद्धकालदेखि नै उम्रेको विषवृक्षको विस्तारित रूप हो। खासगरी अति केन्द्रीकृत ढाँचामा बनेको पार्टीको मूल नेतृत्व वरिपरि स्वार्थ समूह हुर्कनु र पछिल्लो सत्तादेखि सत्तसम्मको संसदीय खेलमा त्यो झन् जब्बर बन्दै जानु मुख्य चुनौति हो।

त्यसैले सबै चीजको आयु भए झै माओवादी आन्दोलनले पनि आफ्नो एउटा चरणको कार्यभार पूरा गरिसकेको सन्दर्भमा अर्को ऐतिहासिक चरणमा समग्र आन्दोलनको नै वैचारिक, राजनीतिक, सांस्कृतिक, सांगठनिक ढंगले रूपान्तरण गरेर अघि बढ्नुपर्छ भन्ने हाम्रो आग्रह हो।

६. माओवादी आन्दोलनलाई अब कसरी पुनर्गठित गर्ने त?

– एक्काइसौं शताब्दी संगसंगै चौथो औद्योगिक क्रान्तिको चरणमा प्रवेश गरेको विश्वका नयाँ अर्थ-राजनीतिक अन्तरविरोधहरू र भर्खरै किनारा पुँजीवाद (Peripheral Capitalism) को चरणमा प्रवेश गरेको र भूमण्डलीकृत पूँजीवादको सांग्लोमा बाँधिदै गएको नेपालका समस्याहरू हल गर्न हिजोको ‘माओवाद’को वैचारिक-राजनीतिक घेराभित्र मात्र सीमित भएर हुँदैन। पछिल्लो ज्ञानविज्ञानले समृद्ध नयाँ विचार,दर्शन, राजनीतिको पुनर्संश्लेषण जरूरी छ। त्यसनिम्ति माओवादी र अन्य कम्युनिष्ट धारका नेता-कार्यकर्ताहरूले सिर्जनशील ढंगले सोच्न र पहल लिन जरूरी छ। विगतका कम्युनिष्ट सत्ताहरू किन ढले? संसदीय कम्युनिज्म किन लोप हुँदै गैरहेछ? तिनको वस्तुनिष्ठ ढंगले सोधखोज गरेर देश काल सापेक्ष नयाँ वैकल्पिक राजनीतिको संश्लेषण गर्नु आजको आवश्यकता हो। केही समयदेखि हामीले पैरवी गर्दै आएको नयाँ शक्ति अभियानको औचित्य र मर्म त्यही हो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com