काठमाडौ १३ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज गोरखा जिल्लाको सहिद लखन गाउँपालिकाको प्रशासकीय भवन र घैरुङ स्वास्थ्य चौकीको नवनिर्मित भवनको समुद्घाटन गर्नुभयो।
उद्घाटन समारोहमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गोरखाको विकासमा आफू प्रधानमन्त्री हुँदा र अहिले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले समेत निरन्तर ध्यान दिएको बताउनुभयो।
उहाँले भन्नुभयो, “संघीयता कार्यान्वयन र स्थानीय तहलाई प्रभावकारी बनाउन म प्रधानमन्त्री हुँदा संघ, प्रदेश र स्थानीय तहबीच समन्वयका लागि पटक–पटक बैठक आयोजना गरेर संघीयताको कार्यान्वयनका लागि पहल गरेको थिएँ। त्यसका लागि धेरै काम अगाडि पनि बढाइएको थियो। तर केपी शर्मा ओली प्रधानमन्त्री भएपछि त्यो काम रोकिएको छ।”

संविधानमा उल्लेखित कतिपय अधिकार अझै कार्यान्वयनमा नआएकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो। “गाउँगाउँमा सिंहदरबार” भन्ने अवधारणा आफूले नै ल्याएको उल्लेख गर्दै त्यसको पूर्ण कार्यान्वयन हुन नसकेको उहाँको भनाइ थियो। बुढी गण्डकी जलविद्युत आयोजना अगाडि बढाउन गरिएको मिहिनेत हाल रोकिएको भन्दै उहाँले त्यसमा पुनः गति दिन जरुरी रहेको धारणा व्यक्त गर्नुभयो।
अध्यक्ष प्रचण्डले भन्नुभयो, “अहिले गणतन्त्र र संविधानको रक्षाका लागि सबै गणतन्त्रवादीहरू एक हुन आवश्यक छ। शुसासन र समृद्धिका लागि पनि अब लड्नुपर्ने अवस्था आएको छ।”
युवाहरू विदेशिने र समाजमा निराशा बढ्दै गएको सन्दर्भमा उहाँले त्यसलाई चिर्न स्वदेशभित्रै रहेका स्रोत, साधन र सम्भावनाको अधिकतम उपयोग गरी देशमै केही गर्न सकिन्छ भन्ने भावना जगाउन आवश्यक रहेको बताउनुभयो।
“नेपाल संसारमै सम्भावनायुक्त देश हो। युवाहरूले निराशा होइन, आशाको भावना बोकेर अघि बढ्नुपर्छ,” अध्यक्ष प्रचण्डले भन्नुभयो।
गोरखामा आयोजित कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, पार्टीका कार्यकर्ता र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।







प्रतिक्रिया दिनुहोस्