म एउटा मिशनमा थिएँ—मेरो पछिल्लो प्रविधि–डाउनग्रेडिङ कार्यक्रममा सहभागी हुन चाहनेहरूका लागि पोस्टर टाँस्न साइकल चलाउँदै हिँडिरहेको थिएँ। “स्मार्टफोन छाड्न चाहनुहुन्छ?“ पोस्टरमा ठूला अक्षरमा लेखिएको थियो। “सोसल मिडियाबाट टाढा बस्न चाहनुहुन्छ? स्क्रिनमा बिताउने समय घटाउन चाहनुहुन्छ?“

लेखिका

मैले मेरो साथीलाई टेप डिस्पेन्सर समात्न र प्रहरी नजिकै छ कि छैन हेरिदिन अनुरोध गरेकी थिएँ। म एउटा पुरानो, बिग्रिएको फोन बूथमा पोस्टर टाँस्दै गर्दा उनले सोधे, “के तपाईं कार्यक्रममा टिकटक प्रतिबन्धबारे कुरा गर्न लाग्नु भएको हो ?“
“कस्तो टिकटक प्रतिबन्ध?“ मैले सोधेँ। स्पष्टतः, मैले केही महत्वपूर्ण कुरा छुटाएकी थिएँ।
म २९ वर्षीया प्रविधिविरोधी कार्यकर्ता हुँ। मलाई पहिलो पटक १५ वर्षको उमेरमा स्मार्टफोन उपहार दिइएको थियो, अनि त्यसपछि एक दशकसम्म म त्यसको नियन्त्रणमा रहेँ। तर, तीन वर्षअघि मैले स्मार्टफोन छाडें र एउटा ’डम्बफोन’ अपनाएँ—मेरो फोन नोकिया २७८० फ्लिप फोन हो, जसले कल वा मेसेज पठाउन मात्र सक्छ। म कहिलेकाहीँ सामाजिक सञ्जालमा प्रवेश गर्छु, तर केवल मेरो सन्देश फैलाउन मात्र । म सामान्यतः ’नो–स्क्रोल’ नीति अपनाउँछु—म अनलाइन जान्छु, पोस्ट गर्छु, अनि तुरुन्तै लगआउट गर्छु।
“डाउनग्रेडिङ“ त्यो शब्द हो, जुन मैले स्मार्टफोन छाड्ने प्रक्रियालाई परिभाषित गर्न रोजेंकी हुँ । म अन्य व्यक्तिहरूलाई पनि यही बाटो अपनाउन सहयोग गर्छु। तर, उनीहरू प्रायः शङ्कालु देखिन्छन्। “मलाई दिशाबोध गर्न आउँदैन“ भन्ने एउटा साझा आपत्ति छ। अरू भन्छन्, “मलाई फेसटाइम प्रयोग गर्नुपर्छ“ वा “मलाई हिंडाइ(वाकिङ्ग) ट्र्याक गर्नुपर्छ भन्ने सल्लहा दिन्छन् ।“

डाउनग्रेडिङ भनेको तीव्र गतिमा अगाडि बढिरहेको प्रविधि–युगमा पछाडि फर्कने क्रान्तिकारी निर्णय हो। मैले धेरै मानिसहरूलाई आफ्नो स्क्रिन–समय घटाउने प्रयास गरिरहेको देखेकी छु, जुन एक कठिन र सतर्कता आवश्यक पर्ने प्रक्रिया हो। तर, मैले पत्ता लगाएकी छु—यो विकल्पलाई नै हटाउनु सबैभन्दा प्रभावकारी समाधान हो।
तीन वर्षअघि, म पनि स्मार्टफोनको जालमा अन्य मानिसहरूजस्तै फसेकी थिएँ। म एक इन्स्टाग्राम आर्ट इन्फ्लुएन्सर थिएँ, जससँग लगभग २ लाख फलोअर्स थिए। म दिनभरि अनलाइनमा बिताउँथेँ र मेरो सबै कमाइ सोही एपमार्फत हुन्थ्यो—प्रिन्ट बिक्री, चित्रकला अर्डरहरू, र आर्ट सप्लाइ कम्पनीहरूसँगको पेड पार्टनरसिपहरू समेत ।
सामाजिक सञ्जालले व्यक्तिगत र व्यावसायिक पक्षबीच कुनै भिन्नता गर्दैन।
मेरो दृष्टिकोणमा, इन्स्टाग्रामले मलाई दुर्लभ र ईष्र्या लाग्दो कुरा दिएको थियो—कलाकारको रूपमा करिअर । तर, यसले मसँगबाट कति खोसेको छ भन्ने मैले बुझिनँ।
२०२२ को गर्मीमा, जब म मेरो पहिलो पुस्तक प्रकाशित गर्ने तयारी गर्दै थिएँ, मलाई अकस्मात् मेरो इन्स्टाग्राम खाताबाट बाहिर निकालियो। यो करिअरका लागि आपतकालिन अवस्था थियोः मैले पुस्तकको प्रचार कसरी गर्ने? मेरो कला कसरी बेच्ने? महिनौँसम्म म पुनः पहुँच प्राप्त गर्न असमर्थ रहेँ—मेटा कम्पनीले ग्राहक सेवा राम्रो भएको रेपुटेशनसँग मतलव राख्दैन—र त्यो बीचमा म आर्थिक रूपमा अस्थिर र सामाजिक रूपमा अलग्गिएँ। अनलाइनमा म एक सार्वजनिक व्यक्तित्व थिएँ; अफलाइनमा, म एउटा नामविहीन यात्री।
पछिल्लो महिनामा जब टिकटक अस्थायी रूपमा बन्द भयो, १५ करोडभन्दा बढी अमेरिकी प्रयोगकर्ताहरूले त्यही कुरा अकस्मात् अनुभूति गरे। मानव सम्बन्धहरूमा यसको केन्द्रियता स्पष्ट भयो—तर असह्य रूपमा। एकैचोटि अज्ञात शक्तिहरूले अर्बौँ सामाजिक सम्बन्धहरू मेटाइदिए, जुन हाम्रो नियन्त्रणभन्दा बाहिर थियो। हामीले बनाएको अनलाइन संसार हाम्रो स्वामित्वमा थिएन भन्ने कुरा हामीले बल्ल बुझ्यौँ।
झन् गम्भीर कुरा के हो भने, सामाजिक सञ्जालमा केही पनि हाम्रो हुँदैन।
हाम्रो कला, हाम्रा विचारहरू, हाम्रा सम्बन्धहरू—सबै प्रविधि कम्पनीहरूले खोतल्ने र शोषण गर्ने डाटामा परिणत हुन्छन्, कहिलेकाहीँ त एआई मोडेलहरूलाई प्रशिक्षण दिनसमेत प्रयोग गरिन्छ। हामीसँग कुनै ब्याकअप पनि छैन—केही मानिसहरूले मात्र अझै ठेगाना डायरी, मेलिङ सूची, वा फोटो एल्बम राख्छन्। जब हामीले सामाजिक सञ्जालमा पहुँच गुमाउँछौँ, हामी केवल आफ्ना सम्बन्धहरू मात्र होइन, हाम्रो इतिहास र हदसम्म हाम्रो पहिचान नै गुमाउँछौँ। यी प्लेटफर्महरू आफ्नै शक्ति बारे जानकार छन्। हामीलाई नियन्त्रित राख्न मानव र कृत्रिम बौद्धिकता दुबैमा अकथनीय मात्रामा लगानी गरेर उनीहरूले यो शक्ति हासिल गरेका छन्।
तर, के यसलाई जित्न—डाउनग्रेड गर्न—सकिन्छ, त्यति धेरै असुविधा बेहोरेर पनि ?
मेरो जबाफ छ ः हाम्रो अहिलेको अवस्थाभन्दा बढी असुविधाजनक के हुन सक्छ?
अनुसन्धानहरूले भनेका छन् ः अमेरिकीहरूले दैनिक ३–५ घण्टा स्मार्टफोनमा बिताउँछन्, जुन किशोरहरूको त अझ धेरै छ। तथ्यांकबिना पनि हामीलाई थाहा छ—स्क्रोल गर्न कति सजिलो छ, र त्यो लत रोक्न कति गाह्रो।
डाउनग्रेड गर्न चाहनेहरूका अनुरोधहरूले समस्या मात्र होइन, असन्तोषको स्तर पनि देखाउँछन्।
प्रत्येक दिन, म कसैबाट एक निराश इमेल पाउँछु, जसले प्रविधि निर्भरता तोड्न सहयोग खोजिरहेको हुन्छ। तर हालसालै, मैले यस्ता सन्देशहरू पाउन थालेकी छु जसमा मानिसहरूले यस चक्रलाई तोडिसकेको बताएका छन्। एउटा सांस्कृतिक परिवर्तन सुरु भइसकेको छ।
तर यो ढिलो र अप्ठ्यारो हुनेछ।
जसरी धेरै मानिसहरूले अहिले सहरहरू सहज रूपमा नेभिगेट गर्न सक्दैनन्, हामी हाम्रो दिनचर्या पनि इन्टरनेटबिना नेभिगेट गर्न सक्दैनौँ। अचानकै, तनाव, वा अल्छी लाग्दा, हामी तुरुन्तै हाम्रा उपकरणहरू समात्छौँ।
युवा पुस्ताले त सधैंभरि यस्तै गरेका छन्।
अलिकति शान्ति खोजिरहेका आमाबाबुले बच्चाको स्ट्रोलरमै फोन राखिदिन्छन्। स्क्रिन–समय सीमित गर्ने प्रयास गर्ने अभिभावकहरूले पनि विद्यालय वा साथीहरूसँगको सम्पर्कमा आफ्ना बच्चाहरूलाई के हेर्न दिने भन्ने नियन्त्रण गर्न सक्दैनन्।
त्यसैले, टिकटक गुमाउने कल्पनाले किशोरहरूलाई आतंकित बनाउनु अनौठो थिएन—७० को दशकका किशोरहरूले एकैचोटि आफ्नो रेकर्ड, पुस्तक, पत्रिका, टेलिफोन, र हुलाक सेवा गुमाएको जस्तै।
यो क्षतिले केवल किशोरहरूलाई मात्र असर गर्दैन, जसका लागि सामाजिक सञ्जाल मुख्य रूपमा मनोरञ्जन र संवादको माध्यम हो, तर कलाकार, लेखक, सार्वजनिक व्यक्तित्व, व्यवसायीहरू—म जस्ता व्यक्तिहरूलाई पनि प्रभावित गर्छ, जसको व्यवसायिक सञ्जाल र जीविका नै यी प्लेटफर्महरूमा निर्भर छ।
यसको अर्थ म इन्टरनेटबाट पूर्ण रूपमा टाढा बसेको छैन।
म कहिलेकाहीँ इन्स्टाग्राम र एक्समा पोस्ट गर्छु, र सवस्ट्याकमा मा समाचारपत्रका लागि लेख्छु। तर जबसम्म यी प्लेटफर्महरू मेरो दिनभरि खल्तीमा रहँदैनन्, तिनीहरूले मलाई निरन्तर नियन्त्रण गर्दैनन्। म अब तिनीहरूका सर्तहरू र मागहरूबाट मुक्त भएको महसुस गर्छु।
सामाजिक सञ्जालले मानिसका आधारभूत आवश्यकताहरू पूरा गर्छः मनोरञ्जन, प्रेरणा, सान्त्वना, विश्वबारे ज्ञान, र अन्य व्यक्तिहरूसँगको सम्पर्क।
हामीले यी आवश्यकताहरू सधैँ राखेका छौँ, र तिनलाई कुनै न कुनै रूपमा पूरा गर्दै आएका छौँ। डेटिङ एपहरू आउनुभन्दा धेरै अघि पनि मानिसहरू डेटिङ गर्थे।
तर, यी एपहरूले समाधान दिन्छौं भन्दै त्यही समस्या झन् गम्भीर बनाएका छन्, यदि सिर्जना नै गरेका छैनन् भने पनि ।
हामी यति धेरै “निर्जीव, कृत्रिम इन्टरफेस“ मा आफ्नो जोडी छान्न अभ्यस्त भइसकेका छौँ कि हामीले वास्तविक जीवनमा आकस्मिक, अव्यवस्थित सम्बन्ध बनाउन सक्ने क्षमता नै गुमाउँदै गएका छौँ।
चुपचाप सोच्ने र झ्याउलगदो बन्न ।
यी डिजिटल उपकरणहरूमा निर्भर भएर, हामीले पुराना, प्राकृतिक तरिकाहरूलाई समयसँगै हराउन दिएका छौँ।
त्यसैले, केवल सामाजिक सञ्जाल घटाएर (डाउग्रेड रेर) मात्र हामी ती गुमेका चीजहरूलाई पुनः जीवन दिन सक्छौँ।
फेब्रुअरी १, २०२५,द न्यूयोर्क टाइम्सबाट भावानुवाद । अगस्ट लाम (श्रीमती लाम एक लेखिका, कलाकार र प्रविधिविरोधी कार्यकर्ता हुन्।)
प्रतिक्रिया दिनुहोस्