काठमाडौ, १३ असार । निर्वाचन आयोगले भरतपुर महानगरपालिका वडानम्बर १९ मा च्यातिएका मतपत्र आज सर्बोच्च अदालतमा पेश गर्ने तयारी गरेको छ ।
सर्वोच्च अदालतले गएको मंगलबार एकहप्ताभित्र च्यातिएका मतपत्र पेस गर्न दिएको आदेश अनुसार च्यातिएका मतपत्र पेस गर्ने तयारी भएको हो । च्यातिएका मतपत्र आजै काठमाडौं ल्याइएको छ । गत जेठ १४ गते मतगणनाको क्रममा नेकपा माओवादी केन्द्रका प्रतिनिधिले राति मतपत्र च्यातेका थिए । निर्वाचन आयोगले १९ नम्बर बडामा पुनः मतदान गराउन गरेको निर्णय विरुद्ध अधिवक्ता तुल्सीराम पाण्डे र १९ नम्बर वडाका वडासदस्यका एमाले उम्मेदवार गुञ्जमान विकले रिट दायर गर्नुभएको थियो । कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र हरिकृष्ण कार्कीको इजलासले सात दिनभित्र च्यातिएका मतपत्र, मतपत्र च्यात्न संलग्न व्यक्तिसहित मुद्दाको फाइल र पुनः चुनाव गराउने आयोगको निर्णय उपलब्ध गराउन निर्वाचन आयोग र सरकारलाई आदेश दिएको हो ।








प्रतिक्रिया दिनुहोस्