ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जापानको अनुभव : समय, मेहनत र कामको सम्मान


एबीसी / संवाददाता

टोकियो, १४ चैत । हरेक वर्षको अप्रिल र मे महिनामा काठमाडौँ ‘ज्याकरान्डा’का बैजनी फूलले रंगिए झैँ जापानी सहरहरु साकुराले ढकमक्क हुने समय हो । ढकमक्क साँकुरा फुलेको मात्र सुनेकाले फुलेको हेर्ने औधी रहर थियो । तर एउटा नरमाइलो के भइदियो भने टोकियोका सडक र पार्कमा साँकुराका बोटमा कोपिला पलाउने र हाम्रो जापान बसाइ बिट मार्ने समय एउटै भइदियो । त्यसैले ‘बकेट लिस्ट’ यो सपना मौका मिले फेरि पूरा गर्ने रहर पूरा गर्ने भन्दै थाँती राख्यौँ । यद्यपि, जापानमा रहँदा बाँकी धेरै रहर भने पूरा भए । त्यसैले करिब १० दिनको बसाइ निमेषभरमै सकिए झैँ लाग्यो ।

हाम्रा लागि जापान घुम्न पाउनु अवसर थियो र यो अवसर जापान सरकारको परराष्ट्र मन्त्रालयको जापान इन्टरनेसनल कोअपरेसन सेन्टरले जुराइदिएको थियो । ‘जापान फ्रेन्डसिप टाइज प्रोग्राम’अन्तर्गत फेब्रुअरी २२ देखि २८ सम्म सञ्चालित जेनेसिस ‘जापान–इस्ट एसिया नेटवर्क अफ एक्सचेञ्ज फर स्टुडेन्ट एण्ड युथ’ कार्यक्रममा भाग लिन नेपालसहित पाकिस्तान, भुटान, बंगलादेश, श्रीलंका र माल्दिभ्सबाट ३० जना विद्यार्थी र ३० जना ‘वर्किङ युथ’ गरी ६० जना सहभागी थियौँ ।

कार्यक्रमको उद्देश्य थियो–जापानको संस्कृति, परम्परा, रहनसहन र विकासलाई निजकबाट नियाल्नु । यस पटकको यो कार्यक्रमलाई ‘ऊर्जा’ क्षेत्रमा केन्द्रित गरिएको थियो । यद्यपि, जापानले गरेको विकास, इतिहास, परम्परा, संस्कृति तथा साक्षात्कारलाई पनि कार्यक्रममा केन्द्रित गरिएको थियो । यस अर्थमा हामीले जापान बसाइमा ऊर्जा क्षेत्रका साथै विभिन्न पक्षबारे जानकारी र अनुभव बटुल्दै थियौँ ।

नेपालबाट प्रतिनिधित्व गर्ने १० जना नारिता विमानस्थलबाट प्रक्रिया पूरा गरी बाहिर निस्किँदै गर्दा पाकिस्तानबाट आएका साथीहरु र ‘जाइस’का दुई जना कर्मचारीले हामीलाई पर्खिरहेका थिए । कराँचीबाट दुबई हुँदै नारिता पुगेका पाकिस्तानका साथीहरुले भने हामीभन्दा आधा घण्टाअघि नै विमानस्थलको प्रक्रिया पूरा गरिसकेका थिए ।

उसो त श्रीलंकन साथीहरु सोही दिन बिहान होटल पुगिवरी टोकियो टावर घुम्न भ्याइसकेका थिए । हामीभन्दा पछि बंगलादेश र माल्दिभ्सबाट साथी आइपुगे भने भोलिपल्ट बिहान मात्रै भुटानका साथीहरु टोकियो अवतरण गरे ।

छ देशका ६० जना सबैका लागि यो पहिलो जापान भ्रमण थियो । भोलिपल्ट ब्रेकफास्टपछिको करिब एक घण्टा अन्य देशका केही साथीहरुसँग परिचय गर्दै सहर नियाल्ने मौका मिल्यो । सँगसँगै बिहानीको मधुरो घामसँगै सिरसिर चलेको चिसो हावाको कुनै प्रवाह नगरी साइकल कुदाउने र जेब्राक्रसिङमा छिटोछिटो हिँड्दै गन्तव्य छोट्याउँदै गरेका जापानीहरुलाई हेर्दै हामीले पहिलो बिहानीमा करिब आधा घण्टा पैदलै हिँडेर सहर नियाल्यौँ । चिटिक्क सफा र कोलाहलमुक्त सहरमा एकनाश ठडिएका गगनचुम्बी भवन, सफा र शान्त सहरलाई पृष्ठभूमिमा राखेर सम्झना स्वरुप केही थान तस्बिर पनि लियौँ ।

प्यासिफिक समुन्द्र किनारको ‘कावासाकी इको म्युजियम’ पुग्दा नौलो लाग्यो । जहाँ विद्यार्थीका विभिन्न सिर्जनामार्फत पर्यावरण र ऊर्जाबारे केही जानकारी लियौँ । साथै छेवैमा रहेको सोलार प्लान्ट अवलोकन गर्ने अवसर पनि मिल्यो । जहाँ ३८ हजार सोलार प्यानल जडान गरी ८७ लाख ४० हजार किलोवाट आवर ऊर्जा उत्पादन भइरहेको थियो । यसरी उत्पादन भइरहेको ऊर्जा जापानका दुई हजार आठ सय घरधुरीमा खपत हुने गरेको रहेछ ।

जापान बसाइका क्रममा हामीले विश्वविद्यालयका विभिन्न प्राध्यापकबाट जापानले भोगिसकेको ऊर्जाको समस्या र समाधानका लागि चालिएका विभिन्न प्रयासबारे जान्ने मौका पायौँ । सन् २०११ को भूकम्पका कारण फुकुशिमा न्यूक्लियर प्लान्ट बन्द भएपछि जापानले ऊर्जा स्रोतमा नयाँ विकल्पमा योजना बनाइरहेको रहेछ । ‘लो कार्बन बिल्डिङ’लाई प्रोत्साहन दिनुका साथै सन् २०५० सम्ममा ग्रीनहाउस ग्यास उत्सर्जन ८० प्रतिशतले घटाउने उद्देश्यले लिएको ‘नेट जिरो २०५०’ सम्बन्धी जान्ने मौका पायौँ ।

जापान बसाइका क्रममा बकेट लिस्टमा बुलेट रेल नहुने कुरै भएन । टोकियोदेखि नागोयासम्म पुग्दा र फर्कंदा ‘सिङ्काशेन बुलेट रेल’मा यात्रा गर्ने अवसर जु¥यो । कूल दुई सय ६५ किलोमिटरको दूरी डेढ घण्टाभन्दा कम समयमै तय गर्दै जापानको ग्रामीण क्षेत्रमा काठबाट निर्मित ससाना घरले भरिएका सुन्दर गाउँ र ‘माउन्ट फुजी’को अवलोकन गर्ने अवसर पनि पायौँ ।

यातायातको साधनका रुपमा साइकलको प्रयोग अत्यधिक हुने रहेछ । टोकियोमा मात्रै प्रत्येक वर्ष १० लाखभन्दा बढी साइकल बिक्री हुने रहेछ । यसले वातावरण जोगाउन र ऊर्जा खपत कम गर्न खेलेको भूमिकाबारे पनि हामीलाई जानकारी गराइयो । अधिकांश व्यक्ति सकेसम्म साइकल नै चलाउने रहेछन् । स्वस्थ खाना, शारीरिक व्यायाम, उच्च गुणस्तरयुक्त जीवनशैलीकै कारण जापानीजहरुको औसत उमेर संसारमै सबैभन्दा राम्रो भएको रहेछ भन्ने बुझ्न गाह्रो भएन ।

हाम्रो बसाइभर हामीलाई निरन्तर साथ दिएकी एक पथप्रदर्शक (गाइड) का अनुसार जापानका मुख्य सहरमा निजी सवारीसाधन निकै कमले चढ्ने रहेछन् । धेरैका लागि सार्वजनिक यातायात भरपर्दो माध्यम रहेछ । जापानमा औसतमा ६० प्रतिशतले निजी सवारीसाधन चढ्दै गर्दा टोकियोको हकमा भने जम्मा ३७ प्रतिशत रहेछ । हामीलाई के लागेको थियो भने टोयोटा, होन्डा, निशान, माज्दालगायतका गाडी उत्पादक देशमा पनि सबैसँग कार हुनैपर्ने हो । तर बस, ट्याक्सी र मेट्रो रेल जस्ता सार्वजनिक सवारी साधनको उच्च गुणस्तरयुक्त सुविधाका कारण निजी सवारीसाधन प्रयोग गर्ने टोकियो जस्ता सहरमा कम हुँदै गएको रहेछ । यद्यपि, सहरमा जस्तै सार्वजनिक यातायातको सुविधा नभएका ग्रामीण क्षेत्रमा भने निजी कार हुनु अत्यावश्यक मानिँदो रहेछ ।

भ्रमण अवधिमा टोकियो र नागोयामा रोयल प्यासेस हेर्ने मौका पायौँ । नागोयामा इलेक्ट्रिकल म्युजियमदेखि सोउ सपिङ स्ट्रिटको टर्किस कबाबको स्वाद जिब्रोमा अझै पनि बाँकी छ । दिनभरको कार्यक्रम सकिएपछि साँझ ७ बजेपछि मात्रै ‘फ्रि टाइम’ मिल्थ्यो । तर नागोयामा रहँदा फ्रि टाइमलाई पूर्णरुपमा उपयोग गर्न पाएनौँ । किनभने यति ठूलो सहर पनि राति ७ नबज्दै सुत्दो रहेछ ।

हामीलाई यति ठुलो सहर किन यति छिट्टै बन्द भएको होला भन्ने लागेको थिएन । सडकमा निकै कम मान्छे हिँड्ने रहेछन् । ‘सबवे’ र ‘मेट्रो स्टेशन’ वरपर भने मान्छेको अचाक्ली देखिने भिड राति १० बजेपछि भने पातलिँदै जाने रहेछ । दैनिक औसत २४ लाख मानिसले हिँड्ने सिबुया क्रसिङमा पनि राति १० बजेपछि कम हुँदै गएको देख्ने मौका मिल्यो । सपिङमल पनि ८ बजेदेखि १० बजेसम्म लगभग बन्द भइसक्ने रहेछन् ।

नागोया छँदा ‘जेडीएस’ छात्रवृत्ति (प्रोजेक्ट फर ह्युमन रिसोर्स डेभलपमेन्ट स्कलरसिप) अन्तर्गतका विद्यार्थीसँग साक्षात्कार गर्ने अवसर मिल्यो । जापान सरकारले स्नातकोत्तर तहमा यसप्रकारको छात्रवृत्ति उपलब्ध गराउने रहेछ । सार्क राष्ट्रका हामीलाई सहज होस् भनेर होला धेरैजसो नेपाली र इन्डियन खाना पाइने होटल नै उपलब्ध गराइएको थियो । केही छाक जापानिज खाना खाए पनि पेट भने बिरयानी, रोटी, नान र दालले नै भरियो । रमाइलो कुरा त के भने टोकियो र नागोयाका जति पनि रेष्टुराँ र मार्ट पुग्यौँ नेपाली नभेटिने कुनै ठाउँ रहेनछ ।

जापान पुगेपछि टोकियोको पुगेपछि ४५० मिटर अग्लो ‘स्काइ ट्री’ नघुमी फर्कंने कुरै भएन । अझ होटलको कोठाबाट चिटिक्क परेको फ्रेम झैँ आँखै अगाडि देखिएपछि त्यहाँ जाने रहर झनै थपिएको थियो । यो रहर पनि जापान पुगेको पर्सीपल्ट पूरा भयो । दिनभरको कार्यक्रम डिनरसँगै पूरा हुन्थ्यो र निवासका लागि होटलतिर लाग्थ्यौँ । एक दिन त रात छिप्पिँदै गर्दा जापानमै बस्ने चन्द्र दाईसँग ट्याक्सी चढेर स्काइ ट्री पुग्यौँ । दुई हजार तीन सय येनको टिकट काटेर तीन सय ५० मिटर माथि पुगेर झिलिमिली टोकियो हेर्ने रहर पनि पूरा भयो । पाकिस्तानका साथीहरु भने सोही दिन चार किलोमिटरको पैदल यात्रामा स्काइ ट्रीलाई नजिकबाट हेर्ने रहर पूरा गरेछन् ।

जापानमा नोटको साटो सिक्काको प्रचलन धेरै हुने रहेछ । एक हजारभन्दा कमको नोट नहुने भएकाले सिक्का प्रचलन गर्नुको विकल्प नै रहेनछ । तर, अहिले भने विद्युतीय भुक्तानीको प्रयोग अत्यधिक भएको रहेछ ।

जापान पुगेपछि जानैपर्ने सूचीमा ‘हाचीको पार्क’ पनि थियो । सन् २००९ मा रिचार्ड गेरको चलिचित्र ‘हाचीको, अ डग डेल’ हेरेपछि त्यो बेलादेखिको घुम्ने रहर करिब एक दशकपछि पूरा हुँदै थियो । त्यसैले जापान बसाइको अघिल्लो रात मेट्रो चढेर हाचीकोको स्ट्याचु हेर्न पुगे । केही सपिङ कम्प्लेक्स घुमियो भने पार्कमा बसेर धेरैबरे गफ गर्ने रहर पनि पूरा गरियो ।

एक साता लामो बसाइमा जापानीहरुको अनुशासन देखेर भने सबै दंगै परियो । विनम्रसँग बोल्ने, कत्ति पनि हल्ला नगर्ने र अरुलाई असाध्यै सम्मान गर्ने उनीहरुको चर्चा अन्तिम दिन प्रस्तुतिका क्रममा सबैले मुक्तकण्ठले प्रशंसा गरे । कार्यक्रम सकिँदै गर्दा छवटै देशका राजदूतावासबाट आउनुभएका प्रतिनिधिसँग हाम्रा अनुभव साट्दै टुङ्ग्यायौँ । उहाँहरुसँग साक्षात्कार पनि भयो । करिब १० दिनको बसाइ हाम्रा लागि अविस्मरणीय रह्यो । सार्क राष्ट्रका साथीसँग नयाँ सम्बन्ध स्थापना गर्नेदेखि जापानले गरेको विकास, यहाँको संस्कृति र परम्परालाई नजिकबाट बुझ्ने अवसर मिल्यो । यस सङ्क्षिप्त मधुरस्मृतिमा जापान बसाइको अनुभव उतारे पनि यसक्रममा हामीले सङ्कलन गरेको अनुभव भने दीर्घकालसम्म रहनेछ । यो छोटै समयको बसाइबाट मैले भने जापानबाट समय, मेहनत र कामप्रतिको सम्मानको गहिरो अनुभव लिएर फर्किएँ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com