काठमाडौं, २२ पुस । शीतलहरसँगै बढेको जाडोले केही दिन यता तराईको जनजिवन प्रभावित भएको छ । शीतलहरले गर्दा विद्यालयका बालबालिकाहरु, दैनिक मजदुरी गरेर जीविका चलाउने मजदुर, वृद्धवृद्धा तथा दलित बस्तीका दलितहरुलाई बढी असर पारेको छ । चिसो बढेसँगै स्थानीय अस्पताल तथा स्वास्थ्य चौकीहरुमा डाइरिया, निमोनिया, रुघाखोकी र दम जस्ता रोगका बिरामीहरुको चाप बढ्नुका साथै स्थानीयवासीहरु घरबाहिर निस्कीन नसकेर बजारहरुमा चहलपहल पातलिएको छ । तराई मधेशका जिल्लामा शीतलहर सुरु भएको छ ।
पूर्व मेचीदेखि पश्चिममा महाकालीसम्मै बाक्लो हुस्सु कुहिरोसँगै शीतलहर चलेको छ । शीतलहरका कारण जनजीवन प्रभावित भएपछि तराई मधेशका जिल्लाहरुमा धेरैजसो विद्यालय बन्द गरिएको छ । पुस पहिलो सातादेखि बढेको चिसोले देशैभरको जनजीवन प्रभावित बनेको छ । हरेक वर्ष हिउँदमा चल्ने शीतलहरले तराईकोे दैनिकी बिथोल्दै आएको छ । दिन छिप्पिंदै जाँदा पृथ्वीको सतहको तापक्रम पनि बढ्दै जान्छ र वायुमण्डलको जलकण फेरि जलवाष्पमा परिणत हुन्छ । अर्थात् कुहिरो हट्छ । तर कुहिरोको तह बाक्लो भएर आवश्यक मात्रामा सौर्य किरण पृथ्वीको सतहसम्म आउन सकेन भने दिनभरि कुहिरो हट्दैन । त्यही अवस्थालाई शीतलहर भनिन्छ । नेपालको तराई क्षेत्रमा हरेक वर्ष शीतलहरले धेरैको ज्यान लिने गरेको छ । साढे दुईदशक यताको तथ्यांक हेर्दा नेपालमा शीतलहरबाट हरेक वर्ष सरदर ३७ जनाको मृत्यु हुने गरेको देखिन्छ । सन् १९९० पछि नेपालको दक्षिणी मैदानमा शुरू भएको शीतलहरका कारण ५२ जिल्लाका एकहजार जनाको ज्यान गइसकेको तथ्यांक छ ।
तराईका जिल्लाहरुमा अधिकतम र न्यूनतम तापक्रमबीचको अन्तर एक दशमलव ९ डिग्री सेल्सियससम्म झरेको छ । अहिले तराई मधेशका धेरै जिल्लामा शीतलहर चलेको र यस्तो अवस्था अझै एक–दुई दिन कायमै रहने पूर्वानुमान गरिएको मौसमविद् बताउछन् । शीतलहरसँगै अत्यधिक चिसो बढेपछि बालबालिकामा निमोनिया र श्वासप्रश्वासको सङ्क्रमण बढेको छ । चिसोका कारण धनुषाको जनक नन्दिनी गाउ“पालिका वडा नं. १ का मनोज यादवको ज्यान गएको छ । जाडोको समयमा आफ्नो स्वास्थ्यप्रति सचेत भइएन भने स्वास्थ्यमा समस्या मात्रै देखिदैन मानिसको ज्यानै जान सक्छ । जाडो महिनामा मधुमेह र दम जस्ता दीर्घरोगीको विशेष ख्याल राख्नुपर्ने सरुवा रोग अस्पताल टेकुका पूर्व निर्देशक डा. सागरकुमार राजभण्डारी बताउँछन् । उनले चिसोयाममा मुटुरोग, श्वासप्रश्वास सम्बन्धी रोग, मधुमेह जस्ता दीर्घरोगीहरुलाई विशेष सचेत हुन आग्रह गरे ।
केही दिनयता बढ्दो शीतलहर तथा चिसो बढ्सगै तराइका धेरे जसो जिल्लामा चिसो छल्न वर्षे बिदामा कटौती हुने गरी विद्यालयहरु बिदा दिएको छ । जाडोको समयमा चिसोबाट बच्न आगो ताप्न मानिसहरुले प्लास्टिक जन्य साम्रागी बालेर आगो ताप्ने प्रचलन रहेको छ । यसरी आगो ताप्दा हातखुट्टा, अनुहार सुख्खा भएर फुट्ने र स्वास्थ्यमा अन्य असर गर्ने डा. राजभण्डारीले बताउँछन् । प्लास्टिकमा हुने टक्सिन नामक रसायनको कारण स्वास्थ्यमा असर पर्ने भएकाले प्लास्टिकको प्रयोग गरेर आगो ताप्न नहुने उनी बताँछन् ।
त्यस्तै भ्यालढोका बन्द गरेर पनि कोठा भित्र हिटर तथा आगो बाल्नु पनि निकै जोखिम भएको बताउछन् । जनस्वास्थ्यविदहरुका अनुसार चिसोका कारण देखिने स्वास्थ्य समस्याबाट बच्न न्यानो कपडा र खानाको प्रयोग गर्नुपर्छ । एउटा मात्र बाक्लो लुगाको सट्टा पातला लुगा एकमाथि अर्को लगाउँदा हावा छेक्न सक्छ । पोसिलो र उच्च गुणस्तरको कार्बोहाइड्रेट, फाइबर र प्रोटिनयुक्त खाना खानुका साथै जाडोमा मौसमी फलफुल त्यसमा पनि अमिलो फलफुल बढी मात्रामा खानुपर्छ ।



















प्रतिक्रिया दिनुहोस्