काठमाडौं, २४ मंसिर । इटहरीको ट्याङ्ग्रा खोलाको दक्षिणतिर लाग्ने हाटबजारमा २०१४ सालमा आगालागी भयो । त्यसमा धेरै मानिस घाइते भए । पोलेको अंगमा मानिसहरू पानी छम्किनुभन्दा अर्को उपाय गर्न सकिरहेका थिएनन् ।
त्यतिबेला डिटोल, शिवाजलको गोटी र मह्लम, बर्नल, एनासिन, एस्प्रो ट्याब्लेट, बेरालगन जस्ता औषधि पाइन्थ्यो ।
यस्तै औषधि लिएर घाइतेहरूलाई मह्लमपट्टी गर्न १० वर्षे बालक खटिए । ती बालकले दिएको औषधिका कारण घाइतेहरूले राहत महसुस गरे । पछि गाउँलेले ती बालकलाई ‘छोटे डाक्टर’ भनेर बोलाउन थाले । २०३५ सालसम्म हिजोका ती बालक वास्तविक डाक्टर भइसकेका थिए अर्थात् एमबीबीएस डाक्टर । जागिरको सिलसिलामा सप्तरीको राजविराजमा हुँदा उनकी श्रीमतीको गर्भमा तेस्रो सन्तान थियो । तर, श्रीमतीले बच्चा जन्माउन सकिनन् र अपरेसन गर्नुपर्ने भयो । त्यहाँ अपरेसन गर्ने डाक्टर भए पनि एनेस्थेसिया (बेहोस गराउने औषधि) दिने कोही थिएनन् । त्यतिबेलाका अञ्चलाधीश महेशकुमार उपाध्यायको गाडी मागेर रातको १२ बजे श्रीमतीलाई विराटनगर पुर्याउनुपर्यो । बच्चा जन्मिए पनि श्रीमतीलाई ठीक हुन धेरै समय लाग्यो । यस्तो भोगाइपछि अब ती डाक्टरमा स्त्री रोग विशेषज्ञ बन्ने हुटहुटी सुरु भयो । र, उनी ढाकास्थित आईपीजीएमआर (अहिले बंगबन्धु शेख मजिव मेडिकल हस्पिटल)मा गाइनोकोलोजीमा पोस्ट ग्र्याजुएट गर्न गए । सन् १९८२ मा गाइनोकोलोजिस्ट भएर फर्किए । अहिले उनी ७३ वर्षका भए । यो बेलासम्म उनले धेरैको जीवन बचाएका मात्र छैनन्, निःसन्तान सयौँ दम्पत्तीको काख भरिदिएका पनि छन् ।
आगलागी पीडितलाई औषधि बाँड्ने ती १० वर्षे बालक र महिलाको वेदना महसुस गरी स्त्रीरोग विशेषज्ञ बनेका व्यक्ति हालका ओम हस्पिटलका संस्थापक डा. भोला रिजाल हुन् । डा. रिजाल आज नेपालका सिद्धहस्त स्त्रीरोग विशेषज्ञ हुन् । तर, उनको परिचय यतिमा सीमित छैन । पत्रकार, गीतकार, सङ्गीतकार, गायक, कथा लेखक, चलचित्र निर्माता भोला रिजालका अगाडि वा पछाडि जोडिएर आउने सशक्त चिनारी हुन् । चिकित्सा जस्तो अत्यन्तै व्यस्त पेसामा आवद्ध व्यक्तिको यति धेरै परिचय कसरी सम्भव छ ? धेरैलाई यस्तो लाग्न सक्छ, जुन स्वाभाविक हो । तर, यो अवस्थासम्म आइपुग्न डा. भोला रिजालका भोगाइको फेहरिस्त लामो छ ।
प्रतिक्रिया दिनुहोस्