काठमाडौं, २३ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई लोकप्रिय मत दिएकोमा धन्यवाद दिनुभएको छ ।
नेकपा एमालेले प्रतिनिधि सभातर्फ समानुपातिकमा सबैभन्दा धेरै मत ल्याएको छ। मंसिर ४ मा भएको चुनावमा एमालेले प्रतिनिधि सभा समानुपतिकमा २८ लाख ४५ हजार ६ सय ४१ मत ल्याएको छ। समानुपातिकमा दोस्रो धेरै मत ल्याएको नेपाली कांग्रेसले २७ लाख १५ हजार २ सय २५ मतमात्रै ल्याएको थियो।
कांग्रेसभन्दा धेरै मत ल्याएको एमालेले समानुपातिकतर्फ कांग्रेसभन्दा २ सिट धेरै जितेको छ।एमालेले समानुपातिकतर्फ प्रतिनिधि सभामा ३४ सिट जितेको हो। प्रत्यक्षतर्फ भने एमालेले ४४ सिट जितेको छ। प्रतिनिधि सभामा अब एमाले दोस्रो ठूलो दल भएको छ। एमालेका ७८ जना सांसद छन्। अध्यक्ष ओलीले लोकप्रिय मतमा एमाले पहिलो भएकोमा मतदातालाई धन्यवाद दिनुभएको हो । २०७४ सालमा वामगठबन्धन गरेर चुनावमा गएको एमालेले अहिलेको तुलनामा धेरै सिट जितेको थियो। त्यसबेला एमालेले प्रत्यक्षमा ८० र समानुपातिक ४१ गरी प्रतिनिधि सभामा १२१ सिट जितेको थियो।यसपालिको चुनावमा पनि एमालेले केही क्षेत्रमा जसपा र राप्रपासँग चुनावी तालमेल गरेको थियो।








प्रतिक्रिया दिनुहोस्