काठमाडौं २२ असार । दोस्रो चरणअन्तर्गत भएको निर्वाचनमा हालसम्म ३२० स्थानीय तहको मतपरिणाम घोषणा भएको छ। यही असार १४ गते तीनवटा प्रदेशअन्तर्गत ३५ जिल्लाका ३३४ स्थानीय तहका लागि मतदान भएको थियो।
निर्वाचन आयोगका अनुसार हालसम्म २८ जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य पूरा भएको छ। अहिले ६ जिल्लाका १४ स्थानीय तहमा मतगणना जारी रहेको छ।
झापाका ३ स्थानीय तह, मोरङका २, सुनसरी दुई, उदयपुर दुई, रुपन्देही १, कञ्चनपुर दुई र कैलालीको एक स्थानीय तहमा मतगणना कार्य जारी रहेको छ। पछिल्लो समय कुनै पनि स्थानीय तहको मतगणना कार्य स्थगित नरहेको आयोगले जनाएको छ।
अहिलेसम्मको मतगणनाअनुसार नेकपा एमाले १४२, नेपाली कांग्रेस ११८, नेकपा माओवादी केन्द्रले ३८ संघीय समाजवादी फोरम ७, नेपाल लोकतान्त्रिक फोरम ६, राप्रपा चार, राष्ट्रिय जनमोर्चा दुई र स्वतन्त्र उम्मेदवार दुई स्थानमा स्थानीय तहको प्रमुख ।अध्यक्ष पदमा निर्वाचित भएको आयोगले जनाएको छ।
दोस्रो चरणमा ३३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधि चयन हुनेछन्। यस निर्वाचनमा ४७ लाख ४० हजार ५२२ मत खसेको थियो।
प्रतिक्रिया दिनुहोस्