बुटवल, २० चैत्र । विश्व अहिले कोरोना भाइरसको माहामारीको चपेटामा परेको छ । कोराना भाइरस कोभिड १९ को प्रभावका कारण नेपाल पनि बिगत ९ दिन देखि लकडाउनमा छ । नेपालमा हाल सम्म कोरोनाका कारण मृत्यु नभएपनि सरकारले उच्च सर्तकता अपनाउदै लकडाउनको घोषणा गरेपछि यसको प्रभाव नागरिकहरुसंगै पशुपंछि र जङ्गली जनावरहरुमा समेत परेको छ ।
सरकारले घोषणा गरेको लकडाउन संगै रुपन्देहीमा रहेका पर्यटकिय स्थल, मठ मन्दिर, तथा पार्कहरु पनि बन्द भएका छन । यस क्षेत्र कै प्रसिद्ध धार्मिक तिर्थ स्थलको रुपमा रहेको सिद्घबाबा बन्द भए पछि यस क्षेत्रमा रहेका बादर, परेवा र पशुपंक्षीहरु बिगत ९ दिन देखि भोकै भएका छन । पुजापाठमा जाने धार्मिक पर्यटकहरुले चढाउने प्रसादमा निर्भर रहेका पशुपंक्षीहरुको दैनिकी अहिले समस्यामा परेको छ । लामो समयको लकडाउनको कारण धार्मिक पर्यटकहरुको आगमन शून्य छ । पर्यटक शुन्य हुदा मन्दिरमा रहेका बादर र परेवाहरु भोकै भएका हुन ।
यो मौसममा अहिले जंगलमा समेत खानेकुरा केही नहुने हुदा बादरहरु भोकै परेको सिद्धबाबा धाम विकास समितिका उपाध्यक्ष लक्ष्मण पोखरेलले दुखेसो गर्नुभयो ।
‘परेवालाई धान खुवाएका छौ ।’– उहाले भन्नुभयो । बादरहरु जंगलमा खानेकुरा नपाउदा मन्दिर र घरतिर आउन लागेको उहाले बताउनुभयो ।
सिद्धबाबा क्षेत्रमा रहेका बादर र परेवाहरु भोकै रहेको थाहा पाएपछि बुटवलका समाजसेवी नरेश्वर पौडेल र सामाजिक अभियन्ता मुक्ति प्रसाद पौडेलले विहिबार सिद्धबाबा क्षेत्रमा रहेका बादर र परेवाहरुलाई बिस्कुट, चना तथा गहु खुवाउनुभएको छ । पाल्पा र बुटवल क्षेत्रमा रहेको दुई सिद्धबाबा मन्दिर धाममा आउने करिब दुइ सय भन्दाका बादरहरु र मन्दिरमा रहेका परेवाहरुलाइ खानेकुरा खुवाउनुभएको हो ।
बांच्न पाउने मानीसको मात्र नभएर पशुपंछीहरुको पनि भएको बताउंदै समाजिक अभियन्ता मुक्ति पौडेलले पशु अधिकारको रक्षा गर्न आफुहरुले उनीहरुकोलागि आहारको ब्यवस्था गरिएको बताउनु भयो । पौडेलले सिद्धबाबाका बांदर तथा परेवाहरु मन्दिरकै शान भएको बताउंदै बांदर र परेवा बिना सिद्धबाबाको सुन्दरताको कल्पना गर्न नसकिने बताउनु भयो ।
सिद्धबाबासंगै यस आसपासका मठ मन्दिरहरुमा लकडाउनका कारण पुजा आजा बन्द भएपछि परेवा तथा बांदरहरु समस्यामा परेकाछन् ।
प्रतिक्रिया दिनुहोस्