काठमाडौं, ६ चैत । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको उद्गमस्थल चीनको वुहान शहरमा नयाँ सङ्क्रमित शून्य पाइएको छ ।
गएको डिसेम्बर हुबेइ प्रान्तको वुहान शहरमा पहिलो पटक कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो । त्यसपछि यो सङ्क्रमण विश्वभर फैलिरहेको छ । तर बुधबार वुहानमा नयाँ सङ्क्रमण नपाइएको चिनियाँ सरकारी अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
कोरोनाका कारण वुहानमा बुधबार थप आठ जनाको ज्यान गए पनि नयाँ सङ्क्रमण भने नदेखिएको बताइएको छ । हुबेइ प्रान्तमा ६७ हजार आठ सय जनामा सङ्क्रमण भएको छ । हुबेइको राजधानी वुहानमा मात्रै सङ्क्रमितको सङ्ख्या ५० हजार पाँच रहेको छ ।
वुहानमा अहिले भाइरसको सङ्क्रमण रोकिएको त्यहाँका अधिकारीले बताएका छन् । कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा दुई लाख १९ हजार एक सय ८१ जना सङ्क्रमित भएका छन् ।
सङ्क्रमितमध्ये आठ हजार ९ सय ६५ जनाको ज्यान गएको छ भने ८५ हजार सात सय ४२ जना उपचारपछि घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस्