काठमाडौं, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान दिने उहाँकी भान्जी समीक्षा सङ्ग्रौलाले प्रधानमन्त्रीलाई भेट्न चाहनुभएको छ ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आइतबार बिहान भेट्न जाँदा सङ्ग्रौलाले ‘मामालाई कस्तो छ’ भन्दै प्रधानमन्त्रीलाई एक पटक भेट्न चाहेको इच्छा व्यक्त गर्नुभएको रिमालले बताउनुभएको छ । जवाफमा राजनीतिक सल्लाहकार रिमालले प्रधानमन्त्रीलाई भेट्ने तपाईं पहिलो ‘भिजिटर’ हुने भनेर आफूले सङ्ग्रौलालाई भनेको ट्विटरमा लेख्नुभएको छ ।
आफ्नोभन्दा प्रधानमन्त्रीको स्वास्थ्यको चिन्ता लिने उहाँप्रति आफूले सम्मान प्रकट गर्दैै सङ्ग्रौला भर्ना भएको वार्डबाट निस्किएको रिमालले ट्विटरमा उल्लेख गर्नुभएको छ ।
गएको बुधबार मिर्गौला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य लाभ गर्दै हुनुहुन्छ । यस्तै प्रधानमन्त्रीलाई आफ्नो दाहिने मिर्गौला दान गर्नुभएकी सङ्ग्रौलाको स्वास्थ्यमा पनि क्रमिक सुधार हुँदै गएको छ । मिर्गौला दाता सङ्ग्रौला नातामा प्रधानमन्त्रीको भान्जी हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्