
नुवाकोट, ६ मंसिर। नुवाकोटको शिवपुरी गाउँपालिका–४ सिक्रेमा गाउँपालिकाको वडा सदस्य एवं नेपाली काँग्रेसका स्थानीय नेता उद्धव थापाको घरमा भेट्टिएको दुई थान सुतली बम निष्क्रिय बनाइएको छ ।
काँग्रेसका नेता थापाको आँगनमा भेटिएको सुतली बम श्रीनाथ गण देवीघाटबाट गएको नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिनुभयो ।
आज शिवपुरी गाउँपालिकाको केन्द्र शेराबगरमा नेपाली काँग्रेस नुवाकोट क्षेत्र नं १ ले चुनावी सभा आयोजना गरेको र त्यहाँ काँग्रेसका उम्मेदवार डा रामशरण महतले सम्बोधन गर्ने कार्यक्रमलाई प्रभावित बनाउने उद्देश्यले बम राखेको हुनसक्ने अनुमान गरिएको छ ।
बम राख्ने व्यक्तिको पहिचान हुन बाँकी भए पनि निर्वाचन विरोधी गतिविधि गर्दै आएको नेपाल कम्युनिष्ट पार्टीको संलग्नता रहेको हुनसक्ने प्रहरीको अनुमान छ । काँग्रेसका उम्मेदवार डा महतलाई लक्ष्य गरी बम विस्फोट गराउँदा कार्यकर्ता चढेको गाडीमा लागेर पाँचजना घाइते भएका थियो ।
यस्तै, आज बम राखिएको घरधनी थापालाई पनि शिवपुरी गाउँपालिका–४ को वडा सदस्य भएर जिम्मेवारीपूर्वक काम नगरेको तथा समाजसेवाको नाममा निरकुङ्श प्रवृत्ति अपनाएको भन्दै नेकपा विप्लव समूहले गत भदौ ३१ गते मोसो दलेर दुव्र्यबहार गरेको थियो ।



















प्रतिक्रिया दिनुहोस्