लोकतन्त्रमा न्यायको खोजीमा भौंतारिदै जनता



१० वर्षे जनयुद्धपछि स्थापना भएको लोकतान्त्रिक गणतन्त्रको अभ्यास गर्न थालिएको लामो समय भइसक्दा पनि सबै जनताले मौलिक हक, स्वतन्त्रता र न्याय पाउने नैसर्गिक अधिकारको उपभोग शतप्रतिशत गर्न पाएका छैनन् । त्यसपछि स्थापना भएका राजनीतिक दलहरू, जन्मिएका सबै नेताहरू, सबैको उद्देश्य एउटै हो भन्छन् तर ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भनेजस्तै भएको छ मेरो देशमा ।

मेरो जीवनको चार दशकमा मैले पञ्चायती व्यवस्था, वहुदलीय व्यवस्था, लोकतन्त्र, गणतन्त्रजस्ता व्यवस्थाहरू अनुभव गर्न पाएँ । सबै व्यवस्थाहरूको उद्देश्य राष्ट्र निर्माण नै भए तापनि विकृति र विसंगति, भ्रष्टाचार, विभिन्न खालका अपराधहरूको वृद्धि र विकास हुँदै गएको यी आँखाले देखेकै हो । गणतन्त्रको बहालिपछि त भ्रष्टाचार र अपराध झनै बढेर गएको देखिन्छ ।

आफ्नो मातृभूमिको माया कसलाई लाग्दैन र ? शायद माया नलाग्नेहरूले अपराध र भ्रष्टाचार गर्छन् जस्तो लाग्छ । भ्रष्टाचार गर्नु भनेको त आफ्नै आमालाई लुट्नजस्तो हो । विसंगतिको पनि मात्रा बढेको छ यो देशमा । जनताले स्वतः पाउनुपर्ने अधिकारका लागि पनि लड्नुपर्ने रे,आन्दोलन गर्नु पर्ने रे । अनि कतिपय व्यापार, व्यवसाय गर्नेहरूले ठग्न पाइएन भनेर आन्दोलन गर्ने रे ।

यो कस्तो विडम्बना † राजनीतिक तथा प्रशासनिक दमन विरुद्ध शोषित–पीडितलाई न्याय दिन अधिकारकर्मीका रूपमा क्रियाशील सामाजिक अभियन्ताहरू त प्रशस्तै छन् तर पनि राजनीतिक पार्टीका खोल ओढेका केही भ्रष्टहरू चौतर्फीरूपमा ताण्डव नृत्य गर्दै खुल्ला साढेझैँ देश दौडाहामा निस्केका छन् । यीनीहरुले गरेको आपराधिक गतिविधिहरू देख्दा मेरो मन–मस्तिष्कमा अनेकन प्रश्नहरू उब्जिरहेका छन् ।

के मेरो देशलाई साँच्चिकै निकै नहुने रोग त लागेको होइन ? एउटा हिंसा पीडित महिलाले न्याय पाउदिँन, रातदिन पसिनाका दाना रोपेर साँझ–बिहान सबैको घरका भोजनको मुस्कान पस्कने एउटा किसानले आफ्नो पसिनाको उचित मूल्य पाउन नसक्दा सडकमा उत्रनुपरेको छ । घर, जग्गा धितो राखेर उच्च शिक्षा हासिल गरेका लाखौ युवा विदेशिनुपरेको छ । ऋणमा डुबेका कतिले ऋण तिर्न नसक्दा आत्महत्या गरेका छन् तरपनि सम्वन्धित निकायले सुनेको छैन । यिनै विभिन्न समस्याका कारण कतिपय मानिसहरु डिप्रेसनको शिकारसमेत हुनुपरेको छ ।

द्वन्द्वमा लागेका कतिपय घाउहरूले मलमसमेत पाउन सकेका छैनन्, एकातिर यो पीडा छँदै छ अर्कोतिर भूकम्पमा भत्किएका कयौं हाम्रा गौरव गर्नलायक सम्पत्तिहरू पुनः निर्माण हुन सकेका छैनन् । चुनावी प्रचारका लागि जतिसुकै विकास र समृद्धिका नारा बनाए पनि यथार्थमा जति हुनुपर्ने हो सो हुन सकेको छैन ।

धर्मका नाममा विभिन्न विकृति निम्तिएको छ । दाइजोको बहानामा कतिपय चेली ज्यूँदै जल्नुपरेको छ । मानिसमा मानवता हराउँदै गएको छ । चेलीबेटीहरू असुरक्षित हुँदै गएका छन् । युवा जनशक्ति खाडीमा श्रम बेच्न बाध्य छन् भने तिनैले पठाएका रेमिट्यान्समा सरकार दंग परेको छ । वृद्ध भत्ता खाएर घरमै आराम गर्नुपर्नेहरू संसद भवनको कुर्चीमा आराम गरिरहेका छन् । आरक्षण कोटाको नाममा आफ्ना आसेपासे र चम्चेहरुको राज चलिरहेको छ ।

जनता कुशल नेतृत्व चाहन्छन्, विकास चाहन्छन्, समृद्धि चाहन्छन् । विकास र परिवर्तन सम्भव छ तर त्यस अनुसारका नीति नियम बनाउन सरकारले सकेको छैन । यदि हरेक नेपाली हातमा हात मिलाएर अगाडि बढ्ने हो भने हामीले सोचेजस्तो विकास र समृद्धि हाम्रै पालमा सम्भव छ । आफ्नो न्यूनतम अधिकार नपाएर दिनैपिच्छे नागरिक कानुनको ढोका घच्घच्याउन वाध्य छ, यसतर्फ कसैको ध्यान गएको छैन ।

कुर्सीमै निदाएको नाटक गर्ने कर्मचारीहरूलाई जगाउन सक्छौं । अहिले एकले अर्कालाई आरोप लगाएर देश बिगार्ने काम भएको छ । जलस्रोत र प्राकृतिक सम्पदाले विश्वमै कहलिएको देशका जनता हामी, हाम्रा कच्चा पदार्थ तथा जडिबुटीहरू स्वदेशमै प्रशोधन गरी बिक्री गर्न मात्र सक्यौं भने पनि कयौं गुणा आर्थिक उन्नति गर्न सकिन्छ ।

हाम्रा थुप्रै पर्यटकीय स्थलहरूलाई विश्वसामु परिचित गराउन सक्यौं भने पनि हाम्रा दाजुभाइहरूले स्वदेशमै पर्यटक घुमाएर डलर कमाउन सक्छन् । हराउँदै गएको हाम्रो शालीनता र एकताले गर्दा छिमेकीहरूले सहजै हामीमाथि अतिक्रमण गर्न खोजेका हुन् । म एक राष्ट्रप्रेमी युवा भएको कारण देशमा भएका अनेक कुराहरूमा प्रत्यक्ष सरोकार राख्ने गरेको छु । शाब्दिक भाका नमिलेको होला तर पनि म मेरा यी शब्दमार्फत् सम्पूर्ण राष्ट्रप्रेमी, शान्तिप्रेमी र विकास चाहने मन–मस्तिष्कलाई अवश्य पनि घच्घच्याउन सक्ने छ भन्ने आशा गरेको छु ।

लेखक –  जीवन रायमाझी, समाजिक अभियन्ता
हाल सिड्नी, अस्ट्रेलिया

    Comment Here!


सम्बन्धित समाचार

View All