काठमाडौं, ३ मंसिर । संघीय सांसदको अध्ययनका लागि संसद सचिवालयमा पुस्तकालय छ । संसद सचिवालयले २० हजार पुस्तक पुस्तकालयमा राखेको छ । तर सांसदहरु पुस्तक पढ्न नजांदा पुस्तकालय बेवारिसे बनेको छ । यता सांसदहरुले विधेयकको समेत अध्ययन गर्ने गरेका छैनन् । पिजन हलमा महिनौँदेखि विधेयक थन्किने गरेका छन् । विधेयक लगेर पढ्न सांसदले चासो देखाउने गरेका छैनन् ।
संघीय संसद सचिवालयको भवन नं. २ भुईतल्ला । जहाँ, सांसदहरुको निम्ति पढ्ने व्यवस्था मिलाउन पुस्तकालयको स्थापना गरिएको छ । तर माननीय सांसदहरु पुस्तकालय पुग्दैनन् । यहांको अवस्था हेर्दा लाग्छ, कयौँ सांसदलाई त संसद पुस्तकालयबारे नै थाहा पनि छैन होला । अब, सांसदहरु पढ्न नगएपछि पुस्तकालय प्रायजसो सुनसान हुने गरेको छ । संसद सचिवालयका अनुसार पुस्तकालयमा २० हजार पुस्तक रहेको तथ्याँक छ । पुस्तकालय जसका लागि स्थापना गरिएको उनै पुस्तकालय नपुगेपछि पुस्तकालय पाठकविहीन बनेको छ ।
सांसदहरुलाई अध्ययनको लागि भन्दै संघीय संसद सचिवालयले पुस्तकालयको व्यवस्था गरिदिएको भएपनि सांसदहरु पुस्तकालयमा विरलै छिर्ने गरेका छन् । सांसदहरु अध्ययनका लागि पुस्तकालय नछिरेपछि यसको प्रभावकारीता लगभग लगभग शुन्यप्रायः जस्तो छ । कुनै कुनै भेला बैठकको बेला पारेर फाट्टफुट्ट छिर्ने गरेपनि पुस्तकालयमा सांसको उपस्थिती हुंदैन । सांसदलाई पुस्तक घरमै लगेर पढ्ने व्यवस्था छ । अन्य आगन्तुकलाई पुस्तक घरमा लगेर पढ्न दिईदैन । त्यसैले किताब अरुको हातमा पनि पर्न नपाउँदा किताब उपयोगविहिन भएर मक्कीदै गइरहेका छन् । पुस्तकालयको औचित्यमाथि नै प्रश्न खडा गर्ने बेला भईसकेको छ । कहिलेकाहीँ फुर्सदिला संसदका कर्मचारीहरु मात्र आक्कलझुक्कल पुस्तकालयमा देख्न सकिन्छ । होइन भने पार्टेशन गरेर बनाइएका चारवटा कोठाहरु रित्तो छन् । तर सांसदहरुको आ–आफ्नो तर्कहरु छन् । कतिपय सांसदले पुस्तकालय सिंहदरबारमा नभई बानेश्वर संसद भवन भइदिएको भए प्रभावकारिता हुने बताउँछन् भने कतिपयले आवश्यक पुस्तक र उचित वातावरण पुस्तकालयमा नभएकै कारण नगएको जिकिर गर्छन् । पुस्तकालयको गुणस्तरको माग समेत सांसदहरुले गरेका छन् ।
पुस्तकहरु कहाँ कुन प्रकारका राखिएको छ कर्मचारीलाई नै खोज्न हम्मेहम्मे पर्छ । फितलो व्यवस्थापन त छदैँछ, पुस्तक पनि बजारमा आएका जस्ता नयाँ नयाँ पुस्तकहरु पुस्तकालयमा भेटिदैँन । जसका लागि पुस्तकालय स्थापना गरिएको उनै सांसदहरु पुस्तकालय पुग्ने र अध्ययन संस्कृति नहुदा पुस्तकालय पुस्तकालय बन्न नसकेको हो । तर संसद सचिवालय पुस्तकालयका कर्मचारी भने सांसदहरुले खोजेको पुस्तक उपलब्ध गराउन सचिवालय सक्षम रहेको बताउँछन् । सांसदहरु जति मात्रामा आउनुपथ्र्यो त्यति नआएको बताउँछन् ।
विज्ञान र प्रविधिको युगमा प्रविधीमैत्री पुस्तकालय निर्माणमा संसद सचिवालयले जोड दिनुपर्ने हो । सचिवालय स्वयंले पुस्तकालयलाई समय सापेक्ष बनाउन सकेको छैन नै । एकातिर पुस्तकालय व्यवस्थित नहुनु अर्काेतिर सांसदहरुको पठन संस्कृति नहुनुले पुस्तकालय बेवारिसे जस्तै बनेको हो । तर सांसदहरु प्रविधिमैत्री पुस्तकालय बनाउन सके अध्ययन गर्ने संस्कारको विकास हुने दावी गर्छन् । विज्ञान र प्रविधिको युगमा पुस्तकालयमा जानै नपर्ने र घरमै बसेर आफ्नो आवश्यकता अनुरुप किताब पढ्ने गर्नाले पुस्तकालय जानु नपरेको पनि सांसदहरुको तर्क छ ।
त्यसो त सांसदहरुले समितिमा छलफल हुने, संसदमा पेश हुने र पास हुने विधेयकहरु पनि कम अध्ययन गर्ने गरेका छन् । संसदीय दलको पिजन हलमा महिनौँसम्म थन्किएर बसेको हुन्छ सांसदहरुको नाममा आएको विधेयक । उनीहरुले त्यो लांदैनन् । पढ्दैनन् । कर्मचारीले जर्बजस्ती सांसदको झोलामा हालिदिनुपर्ने स्थिती छ । समितीमा छलफल हुँदा अथवा संसदमै पेश हुँदा र सार्वजनिक कार्यक्रममै सांसदहरु विधेयकका व्यवस्थाबारे बेखबर भएको स्थिति पनि छ । सांसदको सबै विषयमा दख्खल नहुने हुँदा कम अध्ययन हुन सक्ने कुरा सांसदहरु स्वीकार्छन् । संसद सचिवालयले पुस्तकालय स्थापना गरेपनि त्यसको उपयोग गर्न नसक्नु सिंगो संसदकै लज्जाको विषय हो । पुस्तक नै नपढ्ने, विधेयक नै नपढ्ने सांसदले संसदमा उठेका सवाल जवाफ कस्तो र कसरी गर्न सक्छन् यो निकै चासोको विषय हो । यसर्थ माननीयहरुले पठन संस्कृतिको विकास गरि देश र जनताको भविष्यको मुद्दा जिम्मेवार बन्नै पर्छ । अध्ययन विनाको जनप्रतिनिधि सही नीति र कार्यक्रम बनाउन किमार्थ योग्य हुन सक्दैन यसर्थ माननीयहरुले अध्ययनको संस्कृति विकास गर्न अब लाग्नैपर्छ ।
प्रतिक्रिया दिनुहोस्