ग्लामर,अनुभूति र स्वतन्त्रता



शारदा शर्मा

सपिङमलको चेन्जिङ रुमबाट एकजना युवती निस्किन । अनि साथीहरुसंग भनिन् कस्तो लाग्यो ? ग्ल्यामरत हुनुपर्योनी । अचानक मेरो मुड बदलियो । मनभित्र अनगिन्ती ग्ल्यामरका रुप र रङहरुले मेरो मनलाई अलि बढीनै कौतुहल पुर्ण बनाए । सायद त्यसैको खोजमा म न्युरोड देखि मख्खन सम्म अनि बागबजार देखि दर्वारमार्ग सम्म भौंतारिंए । जहां मैले एक बित्ते लुगामा कुनै पुरुष अर्थात लोग्नेमान्छेलाई देखिन । एकबित्ते लुगामा सजिने मात्र आइमाइ अर्थात हामी केटीहरुनै थियौं ।

मैले सोचें आलुबारीमा आलुरोप्न जांदा मेरी हजुरआमाले सारीको फुर्कोले पसिना पुछ्दै भन्नुहुन्थ्यो यो सारी नभएर अरुनै कपडा लगाउन पाएपनि अलि सजिलो हुने थियो । उहांले कस्तो कपडा लगाउन चाहानुहुन्थ्यो थाहा भएन तर सोच थियो ग्लामार । परिवर्तन संगै समय बदलियो नयां नयां कुराको बिकास हुंदैगयो । हजुरआमाले साडी मात्र लगाइराख्नु पर्ने अवस्था रहेन । कुर्ता र पाइन्ट लगाए पनि हुने भयो । तर आखिर के हो ग्लामर ? मैले धेरै सोचें । अनि ऐना अगाढि उभिएर आफूलाई नियांले । ऐनामा तल देखि माथि सम्म हेर्दा म आंफूमा कुनै ग्लामर देखिन । सायद मेरो सोचमानै ग्ल्यामर छैन । जस्को कारण हुनसक्छ मैले चेन्जिङ रुम बाट निस्किंदै आंफूलाई ग्ल्यामर हुनुपर्यो भन्ने युवतीको ग्ल्यामर लाई राम्रोसंग बुझ्न सकिन । कम्तिमा पनि सजिलो लुगाले शरीर छोप्नुपर्छ भन्ने सोच भएकी मलाई त्यतिखेर आंफैलाई लाज लाग्यो । जतिबेला उनको शरीरमा हुनुपर्ने आवश्यक लुगानै थिएन ।

त्यसैको भेउ पाउन एकैछिन ऐना अगाडि उभिएर ग्ल्यामरको खोजिमा लागें । लगाएको स्वीटर काढ्दै गएपछि टमक्क सेता हात देखिए । तर पनि मैले लगाएको कपडा पूरा एक मिटरको थियो । लाग्यो यो कहां हुनसक्छ ग्ल्यामर ? शरीरका सबै कपढा हटाएर एकटकले आंफुले आफैलाई हेरे के यही हो ग्ल्यामर ? फेरि पनि मलाई ग्ल्यामरको धीत मरेन अव के गर्ने त्यहां भन्दा गर्ने र शरीर बाट लुगा हटाउने नैतिक सामाथ्र्य थिएन ममा । नत हटाउन मिल्ने लुगानै थियो । फेरि सम्झिंए ती युवतीलाई अनि शरीरमा भएको बांकी लुगा पनि हटाएर ऐना हेरे के यही हो ग्ल्यामर ? मैले मलमा देखेको ग्ल्यामर र आफूमा फरकत पाइन तर मलाई अनौठो अनुभूति भयो । यो कस्तो ग्ल्यामर हो ? जहां आफुले आंफैलाई गिज्याएको जस्तो आंफुलाइनै होच्याएको जस्तो ।

आंफुलाइनै नङ्याएको जस्तो । आधुनिकतको नाममा सोच्ने क्षमताको अन्तरदोन्द्ध मात्र भेटे मैले । यो सोचको कुरा रहेछ । बुझइको रहेछ अनि बिचारको रहेछ । समाज परिवर्तन संगै मान्छेमा आउने सोच बिकास र बिकृतिको एउटा संयोग रहेछ । सायद यही संयोगका दुइ पाटा बनेका रहेछौं हामी । हरेक बिषय बस्तुलाई फरक फरक नजरले हेर्न सक्ने अनि त्यसको गुंण र दोष को आधारमा छनोट गर्न सक्ने क्षमता हुन सक्नु पर्छ मान्छेमा । तर के ममा त्यो क्षमता नभएको हो ? आफूले आंफैलाई प्रश्न गर्दै जांदा मैले सोचें दुनियामा ग्ल्यामर महिलाहरु मात्र हुनसक्छन? किन केटाहरु ग्ल्यामर हुन सक्दैनन ? केटा र केटीमा ग्ल्यामर नाप्ने मापदण्डमा किन यति धेरै भिन्नता ? पुरा शरीर ढाकेर पनि केटाहरु ग्ल्यामर देखिन सक्ने ।

तर किन हामी ग्ल्यामर देखिन शरीरको लुगा फुकाल्नु पर्ने ? आधा लगाउनु पर्ने ? यो कस्तो निएम हो ? कस्तो संस्कार हो ? कस्तो परिभाषा हो ? हामी महिलाहरुको लागि मात्र ? फेरि कुरा आयो मुक्ति अनि स्वतन्त्रताको । सायद हाम्रो सोचमा ग्ल्यामर छैन त्यसैको कारण हुन सक्छ ग्ल्यामर शब्दलाई हामीले बुझ्न सकेनौं ।

ग्ल्यामरको परिभाषा र ब्याख्यामा समेत यतिधेरै कुंजिएका हामी महिलाहरु स्वतन्त्रताको कस्तो प्रहसन गर्दैछौं । समाज परिवर्तनशिल छ । परिवर्तन संगै समाजका हरेक परिबेश र परिघटनाहरु बद्लिनु पर्छ र बद्लिंदै गएका पनि छन् । समाज विकास संगै सोच र मान्यताहरुमा परिवर्तन हुन जरुरी छ । मुक्ति र स्वतन्त्रताको रङ्गीन सपना बोकेर सकाज बदल्न चाहने हामी । विकास र आधुनिकता संगै परिवर्तन भएर आफ्नो अधिकार स्थापित गर्न चाहाने हामी । तर यो कस्तो बदलाव हो ? यो कस्तो विकास हो ? अनि यो कस्तो आधुनिकता हो ? जुन बदलाव र विकासले समाजका दुई पक्षमानै यति ठूलो अन्तर ल्याइदिने । जुन आधुनिकताले हामीलाई पुरा नाङ्गो बनाइदिने । कतै मेरो सोचको अन्यौलतात होइन ? मेरो नजरको दोषत होइन ? अनि बदलिन नसकेको मेरो मानसिकतात होइन ? म निकैं अलमलिंए अनि ऐना अगाडि आफ्नो असन्तुलित ग्ल्यामर देखेर लाजले पानी पानी भएं ।

अनि सम्झें छाउपडी प्रथाको बिरोधमा संङघर्ष गरेर गोठबाट घरमा बसेकी उजेलीलाई । उसको सोचमा आएको बिकास र र बदलाब कति महान छ । समाजको पीडा सहन नसकेर बिरुद्धमा उठेकी बिधवा मैनालाई । जसले एकल महिलाहरुमा तहल्का नै मच्याई । रक्सी निषेधित क्षत्र घोषणा गर्नसक्ने साहसी आमा समूहलाई जहां परिवर्तनले यति धेरै उर्जा दियो । हर्केकाकाले गांउमा उन्नत तर्कारी खेती गरे । बुहारीलाई सहनै नसक्ने डल्ली काकीले छोरी जस्तै बुहारीलाई मायां गर्न थालिन् । छोरी बुहारीले पढेभने बिग्रन्छन भन्ने हमाल काकाले छेरीलाई पढाएर डाक्टर बनाए । ग्ल्यामरको ग नबुझेकी मैले उनीहरुमा ग्ल्यामर देखें । आधुनिकता देखें परिवर्तन देखें ।

खै किन हो सपिङ मलको अगाडि देखेको ग्ल्यामर ले मेरो आंखा रसाए । कति भयानक असमानताको विवस लडाइं लडिरहेका छौं हामी । यही समाजका दुई समान भूमिका भएका मान्छे । जहां एक जनाको अस्तित्व हुंदैन त्यहां परिवार र समाजको अस्तित्वनै समाप्त हुंदै जान्छ । तर त्यहां बन्ने र बनाइने संरचना अनि खडा गरिने परिबेश कति भिन्न छ ।

हामी महिलाहरुको लागि । आखिर यो कसले बनायो ? कसले निर्माण गर्यो ? धेरै प्रश्नहरुले दिमाख नाच्दै गर्दा सझिंए हामी महिलाहरु जस्लाई परिवर्तनको निकै भोक छ त्यही भोकको अग्नि ज्वाला मेटाउन हामी आ आफ्नो ब्याख्यामा ग्ल्यामर खोजिरहेको छौं । त्यहि भोक मेटाउन हामी नाङ्गिइरहेका छौं तर के वास्तवमै यही होत ग्ल्यामर ? सायद यही हो भने दुनियांमा पुरुष ग्ल्याामरहरु नभएकै हुनत ? एउटा पुरुष शरीर ढाकेर पनि ग्ल्यामर देखिन सक्छ भने हामी महिलाहरु किन सकिंदैन ? आफ्नै प्रश्नले म पसिना पसिना भएं । परिवर्तनको यो कहाली लाग्दो रुपले हामीलाई कहां पुर्याउला ? एकपटक छातीमा हात राखेर परिवर्तन र आधुनिकताको भुमध्य रेखामा आंफुलाई उभ्याउन खोजें । यो परिवर्तन होइन परिवर्तनको नाममा हामी माथि गरिएको अपमान र शोषण हो ।

यो आधुनिकरण होइन आधुनिकताको नाममा हामी माथि भएको ब्यभिचार हो । तर यसको अन्त कसरी ? अनुभूतिको एउटा लामो फेहरिस्त केलाउंदै जांदा सायद ग्ल्यामर नबुझेकी मैले ग्ल्यामरको यो सीमाङ्कनमा अनि भरिभाषमा कुनै भेउ पाउनै सकिनं । मलको अगाडि देखिएको ग्ल्यामर मात्र होइन अरु बिभिन्न ठांउमा देखिने ग्ल्यामरको यो परिभाषाले हामी महिलाहरुलाई कहां पुर्याउला अनि कस्तो स्वतन्त्रता प्रदान गर्ला ? २०६७ काठमाडौं ।

    Comment Here!


सम्बन्धित समाचार

View All