
काठमाडौं,२३ चैत । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले सरकारको गतिविधि संघीयता विरोधी भएको आरोप लगाउनुभएको छ ।
शनिबार भक्तपुरको थिमिमा कांग्रेस नगरसमिति थिमिले आयोजना गरेको कार्यक्रममा महामन्त्री कोइरालाले प्रधानमन्त्रीमा शक्ति केन्द्रित गरेर सरकारले संघीयताविरोधी कार्य गरेको आरोप लगाउनुभएको हो ।
उहाँले मुलुक संघीयतामा गइसकेको अवस्थामा सरकारले दुई तिहाइ बहुमतको बलमा प्रधानमन्त्रीमा शक्ति सञ्चय गर्नु गलत भएको दाबी गर्नुभयो । यस्तो कार्यले सरकार संघीयतामा विश्वास गर्दैन भन्ने देखाएको महामन्त्री कोइरालाको भनाइ छ।
महामन्त्री कोइरालाले सरकारको एक वर्षे कार्यकालमा धन्यवाद दिने खालको एउटा पनि काम नभएको टिप्पणी गर्नुभयो । यसअवधिमा मुलुकमा हत्या, हिंसा, बलात्कार, भ्रष्टाचारका घटना बृद्धि भएको उहाँको दाबी छ ।
महामन्त्री कोइरालालले कांग्रेस एकतावद्ध भएर अघि बढे आगामी निर्वाचनमा मुलुकको ठूलो दल बन्ने दाबी गर्दै त्यसका लागि कांग्रेसभित्रको गुट उपगुट अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीभित्रका तिक्ततालाई भुल्दै विपीले देखाएको बाटोमा लाग्नुपर्ने बताउनुभयो ।



















प्रतिक्रिया दिनुहोस्