
काठमाडौं ,१३ मङसिर । नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको बैठक सुरु भएको छ । पार्टीको विधान मस्यौदा समितिले पेश गरेको पार्टीको विधान संशोधन मस्यौदामाथि छलफल गर्न केन्द्रिय कार्य समितिको बैठक बोलाइएको हो ।
पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी बैठकमा गत आईतबार पार्टीको विधान मस्यौदा संशोधन समितिले पेश गरेको प्रतिवेदनमाथि छलफल सुरु गरिएको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिनु भयो ।
महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान संशोधन मस्यौदा समितिले केन्द्रिय समितिमा पेश गरेको मस्यौदामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असहमति जनाउँदै सभापतिलाई दिइएको अधिकार कटौटि गर्नुपर्ने, पदाधिकारी संख्या बढाउनुपर्नेलगायतका माग राखेको छ ।
बैठकमा असहमतिका पक्षलाई पनि छलफल गरेर सो मस्यौदालाई टुंगो लगाउने तयारी गरिएको छ । बैठकमा राजनीतिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, सांगठनिक प्रतिवेदनमाथि पनि छलफल गरी आगामी २८ गतेदेखि काठमाडौमा सुरु हुने महासमिति बैठकमा पेश गर्ने काँग्रेसको तयारी छ ।
सहमहामन्त्री महतले केन्द्रिय कार्य समिति बैठकले विधान संसोधन मस्यौदा, राजनीतिक प्रतिवेदन, आर्थिक प्रतिवेदनमाथि पनि छलफल गरी महासमिति बैठकमा पेश गर्ने सबै प्रतिवेदनहरु तयार पार्ने बताउनु भयो ।
केन्द्रिय कार्य समितिमा छलफल सुरु गरिएको विधान मस्यौदामा ‘एक व्यक्तिः एक पद’को प्रस्ताव गरिएको छ । त्यसैगरी केन्द्रदेखि टोलसम्म ८ वटा संरचना प्रस्ताव गरिएको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारी तय गर्ने जिम्मेवारी स्थानीय तहलाई नै दिने, उम्मेदवार प्रस्ताव गर्दा ३ जनाभन्दा बढि गर्न नपाउने व्यवस्था पनि गरिएको छ ।
प्रस्तावित विधान मस्यौदामा पार्टीको केन्द्रिय विभागहरुको नाम र कार्य क्षेत्रमा पनि व्यापक हेरफेर गरिएको विधान संशोधन मस्यौदा समितिका प्रवक्ता रमेश लेखकले बताउनु भयो ।
जस -अनुसार केन्द्रिय नीति तथा प्रशिक्षण प्रतिष्ठानको नाम केन्द्रिय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रस्ताव गरिएको छ । सो प्रतिष्ठानमा स्थायी सचिवालयको व्यवस्था गर्ने र सोमार्फत् पार्टीको नीति तय गरिने पनि उल्लेख गरिएको छ ।
प्रस्तावित विधान संशोधन मस्यौदा समितिमा केन्द्रिय अनुशासन समिति, लेखा समितिको पनि व्यवस्था गरिएको छ । केन्द्रिय अनुशासन समिति अन्तरगत प्रदेश र जिल्लामा पनि अनुशासन समिति रहने व्यवस्था गरिएको छ ।



















प्रतिक्रिया दिनुहोस्