
काठमाडौं,५ असोज । सुनसरीको भुताहामा मौलाना खुर्सिद आलमको गोली हानी हत्या भएको २४ घण्टा बित्दा समेत हत्यारा पत्ता लागेको छैन । मुस्लिम अगुवाहरुले २४ घण्टा बित्दा समेत खुर्सिदको हत्यारा पत्ता नलागेको भन्दै आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।
सरकारका लापरवाहीका कारण पटक –पटक मुस्लिम अगुवाहरुको हत्या भएको उनीहरुको आरोप छ । हत्याराका बारेमा अहिलेसम्म सत्य तथ्य बाहिर ल्याउन सरकार असफल भएको भन्दै मुस्लिम अगुवाहरु विरोधमा उत्रिएका हुन् ।
खुर्सिद आलामका हत्या भएको २४ घण्टा बित्दा पनि सरकारकातर्फबाट ठोस कुरा नआएकाले गृहमन्त्री घटनास्थल आएर शान्ति सुरक्षासहितको प्रत्याभूति दिलाउनु पर्ने स्थानीयको अडान पश्चात खुर्सिदको शव घटनास्थलबाट उठाइएको छैन ।
विहीबार सुनसरी प्रशासन र स्थानीय मुस्लिम अगुवाबीच भएको वार्ता सकारात्मक बने पनि सहमति भने जुट्न सकेको छैन ।
मृतकलाई शहीद घोषणा, क्षतिपूर्ति, शान्तिसुरक्षासहित गृहमन्त्री आउनु पर्ने स्थानीयको अडानलगायतका विषयमा सुनसरी प्रशासनले प्रदेश सरकार र संघीय सरकारलाई जानकारी गराउने अनौपचारिक सहमति गरिएको थियो ।
सहमति अनुसार हिजै गृह मन्त्रालयलाई पीडितका मागका विषयमा पत्र पठाइसकिएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जिल्ला सुरक्षा समितिको बैठक बसी मागका विषयमा प्रदेश र संघीय सरकार समक्ष जानकारी गराएको बताएका छन ।
शवसहित जिल्ला सदरमुकमा इनारुवा आउने कार्यक्रम रहेको र मुख्य राजमार्ग केन्द्रित आन्दोलन चर्काउने उनीहरुको तयारी रहेको छ ।
खुर्सिद हत्याको विरोधमा हरिनगर ,भुटाहा सहित इनरुवा नगर क्षेत्रका निजी विद्यालयहरु बन्द गरिएको बताइएको छ ।



















प्रतिक्रिया दिनुहोस्