
काठमाडौं ८ भाद्र । नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई म्याद थपको लागि जिल्ला अदालत नुवाकोट पुर्याउँदा जिल्ला न्यायाधीशले चियाले स्वागत गरेका छन । प्रहरीले एनसेल टावर आक्रमणको मुद्दामा नुवाकोट लगेको प्रकाण्डलाई न्यायाधीशले चियाले स्वागत गरेका हुन ।
जिल्ला अदालतमा श्रेस्तेदार कार्यकक्षमा श्रेस्तेदार शिवप्रसाद बज्जारासँग एकछिन भलाकुसारी गरे प्रकाण्डले । त्यसपछि न्यायाधीशको कार्यकक्षमा पुर्याइएका प्रकाण्डलाई न्यायाधीश ऋषिकेष वाग्लेले सन्चो–बिसन्चो सोध्दै चियाले स्वागत गरेका थिए । अदालती प्रक्रिया सकेपछि तपाईँका केही कुरा भए मिडियासँग पनि बोल्न पाउने न्यायाधीश वाग्लेले बताए ।
न्यायाधीशले मिडियासँग बोल्न पाउनुहुन्छ भने पनि प्रहरीले प्रकाण्डलाई सञ्चारकर्मीसँग बोल्न रोक्ने प्रयास गरेको थियो । प्रहरीले बोल्न अवरोध गर्दागर्दै प्रकाण्डले भने, ‘कुन ठाउँमा कहिले एक्स्काभेटर जलेको मलाई थाहा छैन । यो जालझेल षड्यन्त्रले राजनीति चल्दैन ।
मलाई फसाउने षड्यन्त्र मात्र हो । यो राज्यको संविधानप्रति हाम्रो वैचारिक असहमति भएको कारणले गर्दा फसाउन खोजिएको हो ।’प्रकाण्डले भने, मलाई शारीरिक यातना त दिइएको छैन । तर मानसिक यातना धेरै दिइएको छ ।
आज रातभरि गाडीमा हिँडाएर बिहान तीन बजे ल्याइयो । मानसिक रुपमा कमजोर बनाउने प्रहरीको रबैया हो यो । जिल्ला अदालतले प्रकाण्डलाई अनुसन्धानको लागि तीन दिन हिरासतमा राख्न म्याद दिएको छ ।



















प्रतिक्रिया दिनुहोस्