
काठमाडौं,१४ साउन । डेमोक्रेटिक लयर्स एशोसिएशन महाधिवेशनबाट अध्यक्षमा योगेन्द्रबहादुर अधिकारी निर्वाचित भएका छन्। प्रदेश ४ को नवलपुरस्थित गैँडाकोटमा सोमबार सम्पन्न महाधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन्।
वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको सहयोगमा उठेका अध्यक्षका प्रतिस्पर्धी सीताराम केसी र सभापति शेरबहादुर देउवा समूहको सहयोगमा उठेका अर्का प्रतिस्पर्धी रामकुमार श्रेष्ठलाई हराउँदै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहको सहयोगमा उठेका अधिकारी अध्यक्ष चुनिएका हुन्।
अधिकारी ४३२ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी अधिवक्ता सीताराम केसीले ३३४ मत प्राप्त गरेका थिए। अध्यक्षका अर्का उम्मेदवार वरिष्ठ अधिवक्ता रामकुमार श्रेष्ठले जम्मा ४२ मत पाए।
महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा सुरेश कुमार, महिला उपाध्यक्षमा सुष्मा बाँस्कोटा, महासचिवमा लक्ष्मीदेवी रावल, कोषाध्यक्षमा सुधा खतिवडा, सचिवमा खड्क क्षेत्री, महिला सचिवमा विष्णु बस्याललाई निर्वाचित गरेको छ। सात प्रदेशमा प्रदेश उपाध्यक्षहरू पनि निर्वाचित भएका छन्।
प्रदेश १ मा मुरारी खानाल, प्रदेश २ मा राजन दाहाल, ३ मा राजु कटुवाल, गण्डकीमा फणिन्द्र कोइराला, प्रदेश ५ मा गोकर्णसिंह थापा, कर्णालीमा खड्क सिजापति, प्रदेश ७ मा वीरबहादुर जेठारा निर्वाचित भए।
महाधिवेशनबाट तीन वर्ष कार्यकालका लागि २४ सदस्यीय समिति निर्वाचित भएका हुन्। डिएलएमा ४३ केन्द्रीय सदस्य रहेका छन्।



















प्रतिक्रिया दिनुहोस्